images
images

आर्थिक गतिविधिमा निष्क्रिय नेपालीको सङ्ख्या ८२ लाख, कति छन् सक्रिय ?

आर्थिक गतिविधिमा निष्क्रिय नेपालीको सङ्ख्या ८२ लाख, कति छन् सक्रिय ?

मधेशमा आर्थिक क्रियाकलापमा सक्रिय नागरिक न्यून, कर्णालीमा धेरै

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • आर्थिक गतिविधिमा निष्क्रिय नेपालीको सङ्ख्या ८२ लाख, कति छन् सक्रिय ?
    images
    images

    काठमाडौँ / नेपालमा ८२ लाख नेपाली आर्थिक गतिविधिभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ करोड ९१ लाख ६४ हजार कुल जनसङ्ख्यामध्ये ८२ लाख ११ हजार १२ नेपाली आर्थिक क्रियाकलापमा सक्रिय नरहेको पाइएको हो । 

    आर्थिकरूपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरूको सङ्ख्या ५८ हजार ७९ जना रहेको कार्यालयको तथ्याङ्क छ।

    यसैगरी १० वर्ष वा सोभन्दा माथिका १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ जना व्यक्तिहरूमध्ये १ करोड १० लाख ३८ हजार १ सय ५ जना आर्थिक रूपले सक्रिय देखिएको छ । 

    त्यस्तै, ४६ लाख ५१ हजार ६ सय ७२ जना भने आर्थिक रूपमा निष्क्रिय देखिएको कार्यालयको तथ्याङ्क छ । 

    त्यसैगरी, आर्थिक रूपमा सक्रिय भएका १० वर्ष वा सोभन्दा माथिका १ करोड १० लाख ३८ हजार जनामध्ये १ करोड ३ लाख ७० हजार रोजगार र ७ लाख ६७ हजार बेरोजगार देखिन्छन् ।

    साढे एक करोड नेपाली आर्थिक क्रियाकलापमा सक्रिय

    तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये १ करोड ५६ लाख ८९ हजार नेपाली विभिन्न आर्थिक क्रियाकलापमा सक्रिय देखिएका छन् । यस्तै, २ करोड ३९ लाख नेपाली आर्थिक क्रियाकलाप गर्न योग्य रहेको पाइएको छ । 

    योग्य जनसङ्ख्याको ६५.६ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध रहेको प्रतिवेदनमा उल्लेख छ । 

    तथ्याङ्कअनुसार ८१ लाख ९६ हजार पाँच सय आठ जना (७१.३ प्रतिशत) पुरुष र ७४ लाख ९३ लाखजना (६०.४ प्रतिशत) महिला आर्थिक रूपमा सक्रिय छन् । 

    यसैगरी, १ करोड १४ लाख ९३ हजार पुरुष र एक करोड २४ लाख ६ हजार महिला आर्थिक क्रियाकलाप गर्न योग्य देखिन्छन् । 

    पारिस्थितिक क्षेत्रका आधारमा हिमालका १४ लाख ३७ हजारमध्ये ७४.३ प्रतिशत, पहाडको ९८ लाख ४३ हजारमध्ये ६८.४ प्रतिशत र तराईको एक करोड २६ लाख २० हजारमध्ये ६२.५ प्रतिशत नेपाली आर्थिक क्रियाकलापमा आबद्ध छन् । 

    कार्यालयका अनुसार वस्तु तथा सेवा उत्पादन गरी आम्दानी गरिरहेकालाई आर्थिक क्रियाकलापमा सक्रिय नागरिक भनिएको छ । १० वर्षमाथि उमेर भएका नागरिकहरू अध्ययनमा समावेश गरिएका छन् । 

    घरायसी काम गरेर आम्दानी गर्नेलाई पनि आर्थिक क्रियाकलापमा सक्रिय मानिएको छ । 

    विद्यार्थी र गृहिणीलगायतलाई आर्थिक रूपमा निष्क्रिय नागरिकका रूपमा वर्गीकरण गरिएको कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता डा. हेमराज रेग्मीले बताए । 

    रोजगार जनसङ्ख्या १ करोड २ लाख

    अक्सर आर्थिक रूपले सक्रिय जनसङ्ख्यालाई अक्सर रोजगार र अक्सर बेरोजगार गरी दुई समूहमा विभाजन गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। 

    सन्दर्भ अवधिमा काम गरेको समय काम नगरेको समयभन्दा बढी भएमा अक्सर रोजगार र काम गरेको समय काम नगरेको भन्दा कम भएमा अक्सर बेरोजगार मानिन्छ । 

    यसरी हेर्दा, आर्थिक रूपमा सक्रिय १० वर्ष वा सोभन्दा माथिका १ करोड १० लाख ३८ हजार १०५ जनामध्ये १ करोड २ लाख ७० हजार जना (९३.०५ प्रतिशत) रोजगार र ७ लाख ६७ हजार ६५८ जना (६.९५ प्रतिशत) बेरोजगार देखिन्छन् ।

    मधेशमा आर्थिक रूपमा सक्रिय नागरिक न्यून 

    मधेश प्रदेशमा आर्थिक क्रियाकलापमा सक्रिय जनसङ्ख्याको अनुपात सबैभन्दा कम देखिएको छ । मधेशमा आर्थिक क्रियाकलाप गर्न योग्य जनसङ्ख्या ४७ लाख ६५ हजार रहेको छ भने त्यसको ५७.३ प्रतिशत नागरिक मात्रै आर्थिक क्रियाकलापमा आबद्ध छन् । 

    सोमध्ये ४७.६ प्रतिशत महिला र ६७.३ प्रतिशत पुरुषको अनुपात रहेको देखिन्छ । मधेशमा २७ लाख ३० हजार नागरिक आर्थिक क्रियाकलापमा सक्रिय छन् । 

    आर्थिक क्रियाकलाप सक्रिय नागरिक कर्णालीमा धेरै 

    तथ्याङ्क कार्यालयका अनुसार भौगोलिक रूपमा दुर्गम मानिएको कर्णाली प्रदेशमा भने आर्थिक गतिविधिमा सक्रिय नागरिकको सङ्ख्या बढी भएको पाइएको छ । सो प्रदेशमा १३ लाख ३१ हजार मानिस आर्थिक गतिविधि गर्न योग्य छन् । 

    जसमध्ये ७२ प्रतिशत अर्थात् ९ लाख ५८ हजार नागरिक आर्थिक क्रियाकलापमा सक्रिय छन् । अनुपातका आधारमा यो अन्य प्रदेशको तुलनामा धेरै हो । 

    अन्य प्रदेशमा कस्तो छ अवस्था ? 

    कोशी प्रदेशका ७१.१ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध छन् । उक्त प्रदेशमा आर्थिक क्रियाकलाप गर्न योग्य नागरिक ४१ लाख २३ हजार रहेकोमा २९ लाख ३२ हजार नागरिक आर्थिक क्रियाकलापमा आबद्ध छन् । 

    यसैगरी, बागमतीका ६४.८ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध भएको देखिन्छ । 

    यो प्रदेशमा ५२ लाख ५७ हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य छन् भने सोमध्ये ३४ लाख चार हजार नागरिक आर्थिक क्रियाकलापमा आबद्ध भएको तथ्याङ्कले देखाएको छ । 

    यसैगरी, गण्डकीमा ६६.५ प्रतिशत नागरिक आर्थिक गतिविधि आबद्ध रहेका छन् । यो प्रदेशमा २० लाख ६९ हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य देखिन्छन् । सोमध्ये १३ लाख ७६ हजार नागरिक आर्थिक क्रियाकलापमा सक्रिय देखिएको तथ्याङ्कमा उल्लेख छ । 

    लुम्बिनीमा ४१ लाख ७३ हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य रहेको देखिन्छ । यो प्रदेशमा २७ लाख ५२ हजार अर्थात ६५.९ प्रतिशत नागरिक आर्थिक गतिविधिमा संलग्न रहेको तथ्याङ्क कार्यालले जनाएको छ । 

    यसैगरी, सुदूरपश्चिमका १५ लाख ३५ हजार (७०.४ प्रतिशत) मानिस कुनै न कुनै आर्थिक गतिविधिमा संलग्न रहेको देखिन्छ । यो प्रदेशमा २१ लाख ८० हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य छन् । 

    आर्थिक रूपले सक्रिय जनसङ्ख्याको मुख्य पेसा 

    तथ्याङ्क अनुसार आर्थिक गतिविधिमा संलग्न १० बर्ष वा सोभन्दा बढी उमेरका ७८ लाख ७६ हजार ३२२ जना पुरुषहरूमध्ये सबैभन्दा बढी कृषिमा संलग्न रहेको देखिएको छ । कृषि, वन र माछापालन कार्यका लासष् ४३.९ प्रतिशत पुरुष सक्रिय रहेको पाइएको हो ।  

    यसैगरी, सामान्य वा प्राथमिक पेसामा १९.४ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने ८.७ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने ७.१ प्रतिशत र व्यवस्थापकहरू ६.६ प्रतिशत पुरुषहरू संलग्न रहेको देखिएको छ । 

    यस्तै, १० वर्ष वा सोभन्दा बढी उमेरका ७१ लाख ६ हजार ९८८ महिला आर्थिक गतिविधिमा संलग्न छन् । सोमध्ये सबैभन्दा बढी अर्थात ५६.९ प्रतिशत कृषि, वन र माछापालन कार्यमा सक्रिय रहेको पाइएको छ । 

    सामान्य वा प्राथमिक पेसामा २६.९ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ४.४ प्रतिशत, व्यवस्थापकहरू ३.५ प्रतिशत, र पेसाविद् महिलाहरूको सङ्ख्या ३.२ प्रतिशत रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । 

    1.JPGस्रोतः राष्ट्रिय तथ्यांक कार्यालय

    किन आर्थिक गतिविधिमा निष्क्रिय छन् नागरिक ? 

    तथ्याङ्क कार्यलयका अनुसार आर्थिक गतिविधिमा निष्क्रिय रहेकामध्ये अधिकांश विद्यार्थी रहेका छन् । १० बर्ष वा सोभन्दा बढी उमेरका आर्थिक गतिविधि नगर्ने ४६.९ प्रतिशत व्यक्तिले आफू विद्यार्थी रहेकोले आर्थिक गतिविधि नगरेको बताएका हुन् । 

    यस्तै, निष्क्रय रहने अन्य कारणहरूमा घरधन्दा २१.९ प्रतिशत, बृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्य ७.४ प्रतिशत, अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । 

    तथ्याङ्क कार्यलयका अनुसार आर्थिक गतिविधिमा निष्क्रिय रहेकामध्ये अधिकांश विद्यार्थी रहेका छन् । १० बर्ष वा सोभन्दा बढी उमेरका आर्थिक गतिविधि नगर्ने ४६.९ प्रतिशत व्यक्तिले आफू विद्यार्थी रहेकोले आर्थिक गतिविधि नगरेको बताएका हुन् । 

    यस्तै, निष्क्रय रहने अन्य कारणहरूमा घरधन्दा २१.९ प्रतिशत, बृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्य ७.४ प्रतिशत, अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन÷आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार