काठमाडौँ / नेपालमै पहिलो पटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षा फागुन २२, २३ र २४ गते तीन दिनसम्म चलेको थियो । फ्रेडेरेसन अफ द रोयल कलेज अफ फिजिसियनस् युकेले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको हो । परीक्षामा ४० जना परीक्षार्थीहरू सहभागी भएका थिए जसमा नेपाल, बंगलादेश, मलेसिया, भारत र टर्कीबाट चिकित्सकहरूको सहभागिता रहेको थियो ।
त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १२ जना परीक्षकहरुको उपस्थिति रहेको थियो । फ्रेडेरेसन अफ द रोयल कलेज अफ फिजिसियनस् युनाइटेड किङ्डमका प्रतिनिधिहरू डा. तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. फियोना क्लार्र्क, डा. सत्यन राजभण्डारी र डा. ग्राहम करी परीक्षा निरीक्षणका लागि आएका हुन् ।
युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो ।
यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्ने पेसेस परीक्षा नेपालका लागि प्रमुख निरीक्षक तथा नेपाल मेडिसिटी अस्पतालका सिनियर कन्सल्टेन्ट डा. नीरज जोशीले बताए ।
परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।
MRCP UK चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।
यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।
यो परीक्षा हुनुभन्दा अगाडि फ्रेडेरेसन अफ द रोयल कलेज अफ फिजिसियनस् युकेले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षाको पूर्व अभ्यास पनि सञ्चालन गरिएको थियो । परीक्षकहरुलाई तालिम दिई परीक्षा सञ्चालन गर्न सक्ने बनाएपछि मात्र यो परीक्षा नेपालमा गरिएको हो ।
हाल धेरै चिकित्सकहरूले यो परीक्षा लिन र MRCP UK योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बनेको छ ।
नेपाल मेडिसिटीमा MRCP PACES परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ । यसले लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।