images
images

वैदेशिक रोजगार : रेमिट्यान्सको बदलामा शव बुझ्दै सरकार, ६ महिनामा ६५६ नेपालीको मृत्यु

वैदेशिक रोजगार : रेमिट्यान्सको बदलामा शव बुझ्दै सरकार, ६ महिनामा ६५६ नेपालीको मृत्यु

वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित हुन नसक्दा रेमिटेन्सको बदलामा नेपालले ठुलो सामाजिक मूल्य पनि चुकाउँदै आएको छ ।

सोमवार, फागुन ७ २०८०
सोमवार, फागुन ७ २०८०
  • वैदेशिक रोजगार : रेमिट्यान्सको बदलामा शव बुझ्दै सरकार, ६ महिनामा ६५६ नेपालीको मृत्यु

    काठमाडौँ / वैदेशिक रोजगारमा जाने नेपालीहरूले बार्षिक अर्बै रेमिट्यान्स पठाउछन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ६ महिना (साउनदेखि पुषसम्म) मा नेपालमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ ।

    images
    images

    यो तथ्याङ्क हेर्दा विदेशमा गएका नेपालीहरूले दैनिक ४ अर्ब भन्दा बढी रकम पठाउछन् । वैदेशिक रोजगारमा गएका नेपालीहरूले पठाएको रेमिट्यान्सको पाटो सुखद छ तर, रेमिट्यान्सको भित्रि कथा भने त्यति सुखद छैन । ६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्सको बदलामा ६ सय ५६ जना नेपालीको शव भित्रिएको छ । 

    वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या ६ महिनाको अवधीमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यस बाहेक वैदेशिक राजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् ।

    बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा दैनिक ५ वटा शव काठको बन्द रातो बाकस विदेशबाट नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेका छन् । 

    वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्दा चालु आर्थिक बर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो । 

    नेपाली श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मलेसिया, खाडीका विभिन्न ६ मुलुक (साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान), दक्षिण कोरिया तथा युरोपका मुलुकहरू देखिन्छ । 

    राष्ट्र बैङ्कको तथ्याङ्क हेर्दा यी मुलुकहरूबाटै नेपालमा धेरै रेमिटेन्स भित्रिने गरेको देखिन्छ । पछिल्ला ६ महिनामा नेपालमा रेमिटेन्सको अवस्था हेर्दा ६ खर्ब ३३ अर्ब भित्रिएको छ ।

    रेमिटेन्ससँग साटिएको ज्यान ! 

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९/८० मा ११ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, आर्थिक बर्ष २०७८/७९ मा ९ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ८६ अर्ब रेमिट्यान्स आएको छ । यस्तै आर्थिक बर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार यसरी एक दशकमा विदेश गएका नेपालीहरूले करिब ९० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएका छन् । तर, वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित हुन नसक्दा रेमिटेन्सको बदलामा नेपालले ठुलो सामाजिक मूल्य पनि चुकाउँदै आएको छ ।  

    वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २०७० को दशकमा मात्र १० हजार नेपाली श्रमिकको परदेशमा ज्यान गएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० बर्षमा अर्थात २०७०/७१ देखि २०७९/८० सम्म ९ हजार ६५२ जना श्रमिकको मृत्यु भएको छ ।

    तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा ७ सय ७७ जना श्रमिकले परदेशमा ज्यान गुमाएका थिए । यस्तै, आर्थिक बर्ष २०७१/७२ मा १ हजार ६ जना, २०७२/७३ मा ८ सय २३ जना, २०७३/७४ मा ७ सय ५८ जना र २०७४/७५ मा ८२३ जनाको मृत्यु भएको छ भने, २०७९/८० मा १ हजार २ सय ८ जनाको मृत्यु भएको छ । विभागले सार्वजनिक गरेको यो तथ्यांकले दैनिक ४ जना र वार्षिक एक हजार श्रमिकले परदेशमा ज्यान गुमाइरहेको देखाउँछ ।

    हरेक बर्ष मृत्युवरण गर्नेमा सबैभन्दा बढी खाडी मुलुकतर्फ दुबई, साउदी अरेबिया, कतार, जोर्डन, बहराईन र ओमन छ । त्यस्तै, मलेसियामा पनि ज्यान गुमाउने नेपालीको संख्या उत्तीकै छ । विभागको तथ्याङ्क अनुसार परदेशमा विभिन्न कारणले नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ । 

    यसरी रोजगारका लागि विदेशिएका श्रमिकहरूको संख्या बढेसंगै परदेशमा ज्यान गुमाउने श्रमिकको संख्या घट्ने कुनै संकेत देखिंदैन । बरु यो संख्या हरेक वर्ष बढ्दै गएको बोर्डकै तथ्यांकले बताउँछ ।

    १० वर्षमा भित्रिएको रेमिट्यान्स र गुमेको ज्यान

    1.JPG

    मृत्युको कारण के हो ? 

    वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार पछिल्लो साढे एक दशकको अवधिमा मुटुसम्बन्धी रोगका कारण एक हजार ४७४ जना, हृदयघातका कारण ७३३ जना, सडक दुर्घटनाका कारण १ हजार ३५९ जना नेपालीको मृत्यु भएको छ । 

    सोही अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार १८७ जनाले आत्महत्या गरेका थिए भने कार्यस्थल दुर्घटनामा परी ७५४ जनाको मृत्यु भएको थियो ।  कोरोना भाइरसको संक्रमणका काराण २०७ जनाको मृत्यु भएको थियो । उक्त अवधिमा दुई हजार ७७ जनाको प्राकृतिक मृत्यु भएको थियो ।  दुई हजार ८७५ जनाको मृत्यु अन्य कारणले भएको थियो । 

    दुर्घटनामा परेर कतिको हुन्छ अंगभंग ? 

    वैदेशिक रोजगारीमा गएकाहरु विभिन्न दुर्घटनामा पर्ने गर्छन् । दुर्घटनामा पर्दा कतिको अंगभंग हुने गरेको छ । बितेको १० वर्षमा मात्र वैदेशिक रोजगारीमा गएकाहरुमध्ये विभिन्न दुर्घटनामा परी २ हजार ५८८ जनाको अंगभंग भएको छ । 

    बोर्डका अनुसार आर्थिक बर्ष २०७०/७१ मा ११६ जना, २०७१/७२ मा १८४ जना, २०७२/७३ मा ११७ जना र २०७३/७४ मा २०४ जनाको अंगभंग भएको थियो ।यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ३६१ जना, २०७५/७६ मा ३५४ जना, २०७६/७७ मा २०५ जना, २०७७/७८ मा १४३ जना, २०७८/७९ मा २४५ जना र २०७९/८० मा ३८९ जना नेपालीको अंगभंग वैदेशिक रोजगारी रहँदा भएको बोर्डले जनाएको छ । 

    मृतकको परिवारलाई आर्थिक सहायता 

    वैदेशिक रोजगार बोर्डले पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ५ हजार ३६२ जनाको परिवारलाई आर्थिक सहायतास्वरुप तीन अर्ब ७ करोड ४१ लाख ९५ हजार रुपैयाँ उपलब्ध गरेको छ । २०७५ साउन एक गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा बोर्डले उक्त रकम पीडित परिवारलाई प्रदान गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार