images
images

जनकपुरधाम–नेपालगञ्ज हवाईसम्बन्ध विस्तारका लागि चार्टर्ड उडान, पर्यटकीय गतिविधि बृद्धि हुने

जनकपुरधाम–नेपालगञ्ज हवाईसम्बन्ध विस्तारका लागि चार्टर्ड उडान, पर्यटकीय गतिविधि बृद्धि हुने

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • जनकपुरधाम–नेपालगञ्ज हवाईसम्बन्ध विस्तारका लागि चार्टर्ड उडान, पर्यटकीय गतिविधि बृद्धि हुने

    जनकपुरधाम / मधेस प्रदेशको जनकपुरधाम र लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरबीच हवाईसम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि शनिबार चार्टर्ड उडान गरिएको छ ।

    धनुषाको जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घ नेपालगञ्जको सहकार्यमा चार्टर्ड उडान सम्पन्न भएको हो । 

    चार्टर्ड उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देललगायत ७२ जनाको सहभागिता थियो । 

    उनीहरूलाई जनकपुरधाम विमानस्थलमा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले भव्य स्वागत गरे । 

    त्यसैगरी, आगन्तुक टोलीलाई जानकी मन्दिरलगायत क्षेत्र भ्रमण गराइएको थियो । भ्रमण टोली शनिबार फिर्ता भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठले जानकारी दिए। 

    सो अवसरमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री केसीले जनकपुर–नेपालगञ्ज र अयोध्याबीच धार्मिक पर्यटकीय सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक हवाई परीक्षण उडान भरिएको बताए । 

    “जनकपुरको जानकी मन्दिर दर्शनका लागि हजारौँ भक्तजन आउने गर्दछन् । नेपालगञ्जको बागेश्वरी मन्दिरमा पनि त्यस्तै आस्था छ । त्यसैले यो आस्थालाई पर्यटन प्रवर्द्धनसँग जोडी पर्यटकको सहजताका लागि हवाई उडान आवश्यक छ । त्यसैको सम्भाव्यता अध्ययनका लागि समेत परीक्षण उडान गरिएको हो । अब यसलाई दिगो रूप दिन प्रदेश सरकारले पनि सहयोग गर्नेछ”, मन्त्री केसीले भने ।

    त्यसैगरी नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जनकपुरधाम र नेपालगञ्जमा पर्यटकीय गतिविधि वृद्धिका लागि सहकार्य गर्न आफूहरूले पहिलो चरणमा चार्टर्ड उडान भरेको र यसलाई स्थायी रूप दिन आवश्यक छलफलसमेत भइरहेको जानकारी दिए। 

    सिग्देललले भने, “नेपालगञ्ज र जनकपुरबीच धार्मिक सम्पर्क बढाउन हवाई उडान अपरिहार्य छ । यसले हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र अयोध्यालाई जोड्न पनि सहज हुने हाम्रो विश्वास छ । त्यसैले मधेसबाट नेपालगञ्ज र नेपालगञ्जबाट मधेसमा पर्यटकीय गतिविधि बढाउन हातेमालो हुने विश्वास छ ।”

    जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष महासेठले चार्टर्ड उडानबाट आफूहरू उत्साहित भएको बताए । 

    उनले हाल मधेसबाट आठदेखि १० वटा बस नेपालगञ्ज गइरहेको अवस्थामा हवाई उडानले थप सहजता प्रदान गर्नुका साथै पर्यटकीय विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे। यस कार्यमा जनकपुरधामबाट पनि आफूहरूको सहयोग रहने उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार