काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा नेपालले डेढ सय भन्दा बढी मुलुकसंग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा एक सय ५५ मुलुकसंग व्यापार गरेको हो ।
यस अवधिमा नेपालको निर्यात व्यापार अत्यन्तै निराशाजनक देखिएको छ । साउनदेखि पुष मसान्तसम्म भएको १५५ देशसँगको वैदेशिक व्यापारमा नेपालले एक सय २८ देशसँग घाटा व्यहोर्नुपरेको छ । २७ देशसँग मात्रै नेपालको व्यापार नाफामा गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । ६ महिनामा ७ खर्ब भन्दा बढीको आयात हुँदा ६३ अर्बको मात्रै निर्यात भएको विभागले जनाएको छ ।
जोसँग पनि घाटा !
पुष मसान्तसम्ममा नेपालले संसारका १५५ देश तथा भौगोलिक क्षेत्रहरूसँग व्यापार गरेको भन्सार विभागको आँकडाले देखाउँछ । तर तीमध्ये केवल २७ देशसँग मात्र नेपालको व्यापार नाफामा छ ।
दक्षिण एशियामा नेपालको व्यापार केवल अफगानिस्तान र माल्दिभ्ससँग मात्र नाफामा छ – त्यो पनि करिब २ करोड रुपैयाँले मात्र । ६ महिनामा नेपालले माल्दिभ्ससंगको व्यापारमा २ करोड ३४ लाख र अफगानिस्तानसंगको व्यापारमा १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।
विभागको तथ्याङ्क अनुसार नेपालले जुन देशसंगको व्यापारमा नाफा आर्जन गरेको छ त्यो थोरै परिमाणमा मात्र छ । उदाहरणका लागि सबैभन्दा धेरै नाफा अमेरिकामा देखिन्छ, जुन ७० करोड ३६ लाख रुपैयाँको मात्र छ ।
अमेरिकासँग विसं २०७४/७५ यता गत आर्थिक बर्ष पहिलो पटक व्यापार नाफा भएको थियो । उक्त बर्ष साढे १४ करोड जतिको मात्रै व्यापार नाफा भएको विभागको तथ्याङ्क छ ।
यता, युरोपका अधिकांश ठूला अर्थतन्त्र भएका देश (फ्रान्स र जर्मनी) सँग पनि नेपालको व्यापार अर्बौँ रुपैयाँले घाटामा छ । ५ महिनामा नेपालको फ्रान्ससंगको व्यापार घाटा ४ अर्ब ९१ करोड र जर्मनीसंगको व्यापार घाटा १ अर्ब ८९ करोड भन्दा बढीको घाटा छ ।
पुष मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसंग व्यहोरेको छ । भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा छ । ६ महिनाको अवधिमा भारतबाट नेपालमा ४ खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँको वस्तु आयात हुँदा ५० अर्ब ४४ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
यस्तै, चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ व्यापार घाटा छ । चीनबाट यस अवधिमा १ खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ खर्ब ६० करोड रुपैयाँको निर्यात भएको छ । तथ्याङ्कले नेपालको सबैभन्दा ठुलो व्यापार घाटा दुई छिमेकी मुलुक चीन र भारतसँग छ ।
यता हङकङसँग १ अर्ब, इन्डोनेसियासँग ६ अर्ब, जापानसँग ३ अर्ब, कोरियासँग २ अर्ब, मलेसियासँग साढे ८ अर्ब, मोरोक्कोसँग साढे २ अर्ब रुपैयाँको नोक्सानी देखिएको छ ।
न्यूजिल्याण्डसँग १ अर्ब, नाम नखुलेका मुलुकसँग २ अर्ब र ओमानसँग साढे ३ अर्बभन्दा बढीको घाटा हुँदा रुससँग साढे २ अर्बको घाटा बेहोरिएको छ ।
यस्तै, साउदी अेरिबियासँग ३ अर्ब र सिंगापुरसँग २ अर्ब, दक्षिण अफ्रिकासँग साढे १ अर्ब, ताइवानसँग २ अर्ब थाइल्यान्डसँग ४ अर्ब रुपैयाँको घाटा देखिएको छ ।
यी हुन् नेपालले बढी व्यापारघाटा व्यहोरेको १० देशहरू
भारतः ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ
चीनः १ खर्ब ४५ अर्ब ७९ करोड १ लाख रुपैयाँ
युएईः १२ अर्ब २६ करोड रुपैयाँ
युक्रेनः ९ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ
मलेसियाः ८ अर्ब ६० करो ८२ लाख रुपैयाँ
अष्ट्रेलियाः ६ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ
इन्डोनेसियाः ६ अर्ब ३१ करोड ५७ लाख रुपैयाँ
अर्जेन्टिनाः ६ अर्ब २८ करोड ५२ लाख रुपैयाँ
फ्रान्सः ४ अर्ब ९१ करोड २७ लाख रुपैयाँ
थाइल्यान्डः ४ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ
नेपाल नाफामा रहेका देश
नेपालले ६ महिनामा विश्वका विभिन्न मुलुकसँग वैदेशिक व्यापार गर्दा अमेरिकाबाट उच्च नाफा कमाएको छ । नेपालले सो अवधिमा ७० करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।
अमेरिकापछि डेनमार्कसँगको वैदेशिक व्यापार नाफामा छ । डेनमार्कमा ५० करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा डेनमार्कबाट २३ करोड ६५ लाख रुपैयाँको आयात गरेको छ । जसमा नेपालले २७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै नर्वेसंग व्यापारमा नेपालले ६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा ८ करोड १५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा १ करोड ६७ लाख रुपैयाँको आयात गरेको छ ।
विभागको अनुसार डोमिनिकासँगको व्यापारमा ३८ लाख, जर्जियासँग ३९ लाख, आइसल्यान्डसँग ५६ लाख, किर्गिस्तानसँग ८ लाख र लात्भियासँग १ करोड ७६ लाख रुपैयाँले नाफामा रहेको छ ।
यता लाइबेरियासँग ३७ लाख रुपैयाँको नाफा हुँदा मालदिभ्ससँगको व्यापारमा २ करोड ३४ लाख रुपैयाँ नाफा छ भने माल्टासँग ६६ लाख, मौरिसिनियासँग ४९ लाख रुपैयाँको नाफामा रहेको विभागको तथ्याङ्कले देखाएको छ ।
यी देशहरूबाट आयात मात्रै हुन्छ, हुदैन निर्यात !
नेपालबाट निर्यात भएको तथ्याङ्क अनुसार निर्यातको अवस्था निकै कमजोर देखिएको छ । व्यापार साझेदार देशमध्ये ३८ देशमा नेपालको निर्यात ‘शून्य’ रहेको छ ।
आयात मात्रै भएको देशहरू
देश | आयात रकम |
अल्जेरिया | ३८ लाख ४८ हजार |
अजरबैजान | ६ लाख ९२ हजार |
बार्बाडोस | १ लाख ७७ हजार |
बेलारुस | २ करोड २२ लाख ४३ हजार |
बोस्निया/हर्जगोभिना | ३ लाख ३३ हजार |
ब्रुनाई दारुसलाम | ८ लाख ८ हजार |
बुर्किना फासो | १५ करोड ३६ लाख ३० हजार |
क्यामरुन | ६ लाख ८८ हजार |
इक्वेडर | ४ लाख १८ हजार |
एल साल्भाडोर | १८ लाख ६० हजार |
गैबोन | ४ करोड १९ लाख ३१ हजार |
घाना | ४ करोड ७५ हजार |
होन्डुरस | १ लाख ९७ हजार |
लिकटेन्स्टाइन | ५ लाख ३२ हजार |
मेडागास्कर | २ करोड ९१ लाख ९३ हजार |
मलावी | ९५ लाख ६१ हजार |
माली | २४ लाख १० हजार |
मार्शल टापुहरू | ९ लाख ७ हजार |
मोनाको | २ लाख ८९ हजार |
नामिबिया | १० लाख १० हजार |
निकारागुआ | ४७ लाख १७ हजार |
नाम उल्लेख नगरिएको देश | २ अर्ब ४९ करोड ६० लाख ४७ हजार |
पिटक्रेन | ३ लाख ३८ हजार |
रुवाण्डा | १ लाख ३६ हजार |
सर्बिया | १ करोड ९९लाख १ हजार |
सर्बिया (युरोप) | २४ लाख २३ हजार |
सुरिनाम | १ लाख १९ हजार |
स्वाजिल्याण्ड | ८ करोड ८९ लाख ९२ हजार |
पूर्व युगोस्लाभ रिप. म्यासेडोनिया | ५ लाख ७७ हजार |
टोगो | ३० करोड ७० लाख २ हजार |
टोकेलाउ | ४ लाख १३ हजार |
त्रिनिडाड/टोबागो | १८ लाख ३ हजार |
ट्युनिसिया | १७ लाख ६४ हजार |
तुर्कमेनिस्तान | १ अर्ब २२ करोड १८ लाख ६४ हजार |
टक्र्स र काइकोस टापुहरू | ५ लाख ८६ हजार |
भानुअतु | ४ लाख ३१ हजार |
वालिस र फुटुना टापुहरू | २ लाख ७४ हजार |
जाइरे | २ लाख ९४ हजार |
स्रोतः भन्सार विभाग
आयात शून्य भएको देश ८ वटा मात्रै
विभागको तथ्याङ्क अनुसार ६ महिनामा नेपालले १५५ वटा देश संग गरेको व्यापारमा ८ वटा देशबाट कुनै पनि वस्तु आयात नगरेको तथ्याङ्कले देखाएको छ ।
आयात शुन्य हुने देशहरूमा एन्टिगुवा/बारबुडा, बहामास, बर्मुडा, चाड, डोमिनिका, किर्गिजस्तान, मौरिटानिया र न्यू क्यालेडोनिया रहेका छन् । व्यापार नाफा हुने २७ देशहरूमध्ये यी ८ देशहरूमा निर्यात मात्र (आयात नभएको) भएको हुँदा व्यापार नाफामा देखिएको हो । निर्यात मात्रै भएको यी आठ देशहरूमा पनि निकै कम रकमको वस्तु तथा सामानहरू पठाइएको छ ।
वस्तु निर्यात मात्रै भएको ८ देशहरू
स्रोतः भन्सार विभाग
कसरी धानिएको छ अर्थतन्त्र ?
हाल वस्तु व्यापारमा यसरी धरमराएको नेपालको अर्थतन्त्रलाई बलियो सहारा दिने क्षेत्र रेमिट्यान्स नै बनेको छ । चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ ।
तथ्याङ्क अनुसार पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ५ महिनामा नेपाली कामदारहरूले ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याए । यो रकम अघिल्लो बर्षको सोही अवधिको तुलनामा २७.६ प्रतिशतले बढी हो ।
बढेको रेमिट्यान्स अनि खस्किएको आयात–निर्यातका माझ विदेशी मुद्रा सञ्चिति १४.८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जसले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न धान्न सक्छ ।