images
images

अलैँची बेचेर ५ बर्षमा नेपालले कमायो २५ अर्बबढी, तर घट्दै उत्पादन !

अलैँची बेचेर ५ बर्षमा नेपालले कमायो २५ अर्बबढी, तर घट्दै उत्पादन !

अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यात भने बृद्धि भएको छ । यस बर्ष अलैँचीको उत्पादन घटेसँगै मूल्य बृद्धि हुँदा किसान भने उत्साहित भएका छन् ।

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • अलैँची बेचेर ५ बर्षमा नेपालले कमायो २५ अर्बबढी, तर घट्दै उत्पादन !

    काठमाडौँ / चालु आर्थिक बर्षको ६ महिनामा अलैँचीको निर्यात बढेको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको उत्पादन घटे पनि निर्यात भने वृद्धि भएको हो । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार साउनदेखि पुष मसान्तसम्ममा नेपालबाट करिब ४ अर्ब रुपैयाँ बराबको अलैँची निर्यात भएको छ । ६ महिनामा नेपालले ३ अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २८ लाख ६६ हजार ७६० किलोग्राम अलैँची निर्यात गरेको हो । 

    यो गत आर्थिक बर्ष २०७९÷८० को सोही अवधीको तुलनामा परिमाणको आधारमा ३८.६५ प्रतिशत अर्थात १८ लाख ६ हजार १७४ किलोग्रामले कम र मूल्यको आधारमा ४.४८ प्रतिशत अर्थात १६ करोड ७७ लाख ७१ हजार रुपैयाँले धेरै हो ।

    गत आर्थिक बर्षको पुष मसान्तसम्ममा नेपालले ३ अर्ब ७३ करोड ९९ लाख ७ हजार रुपैयाँ बराबरको ४६ लाख ७२ हजार ९३४ किलोग्राम अलैँची निर्यात गरेको थियो । यस बर्ष निर्यात भएको अलैँचीको शतप्रतिशत अंश भारत गएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

    यता चालु आ.व.को सोही अवधिमा नेपालले छिमेकी मुलुकहरूबाट १ लाख ५७ हजार रुपैयाँ बराबरको १०० किलोग्राम अलैँची आयात गरेको छ । यद्यपि, आयातको तुलनामा निर्यातको परिमाण भने बढी रहेको तथ्याङ्क देखिन्छ ।

    उत्पादन घट्यो तर बढ्यो निर्यात

    नेपाल अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मल भट्टराईका अनुसार चालुु आर्थिक बर्षमा अलैँचीको उत्पादनमा ५० प्रतिशतले कमी आए पनि निर्यात भने बढेको छ । गत वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादनमा ५० प्रतिशतले कमी आएको उनको बताए । 

    अध्यक्ष भट्टराईले परिमाणमा घटेको देखिए पनि मूल्य नघटेको कारण किसानहरू उत्साहित भएको जानकारी दिए । अर्थडबलीसँगको कुराकानीमा यो बर्ष अलैँचीको उत्पादन गत बर्षको तुलनामा ४० देखि ५० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको बताए । 

    गत वर्ष ८ हजार मेट्रिक टन अलैँची उत्पादन भएकोमा यो वर्ष घटेर ४ हजारदेखि ५ हजारमा सीमित हुने उनको भनाइ छ ।

    “खडेरी र रोग/किराको कारण अलैँची बिग्रिएको छ,” उनले भने, “लेकाली क्षेत्रमा फूल फुले पनि दाना नलागेका तथा बोट नै सुकेर गएको कारण उत्पादन घटेको हो ।”

    कोभिड–१९ को कारण नपाली बजारमा उत्पादन भएको अलैँचीले बजार नपाउँदा स्टकमा धेरै अलैँची थियो । तर अहिले जलवायु परिवर्तन, लामो खडेरीका साथै किसान नै उत्साहित नभएका कारण खेती पनि घटेको उनले बताए । उनले यो वर्ष अलैँचीको उत्पादन ३५ देखि ४५ प्रतिशतसम्म उत्पादन घट्ने बताएका छन् ।

    मूल्य बढ्दा किसान उत्साहित 

    अघिल्लो बर्षहरूको तुलनामा यस बर्ष अलैँचीको मूल्य बृद्धि हुँदा किसानहरू भने उत्साहित भएका छन् । अध्यक्ष भट्टराईका अनुसार यस बर्ष अलैँचीको मूल्य ५० प्रतिशतसम्म बढेको हो ।

    “गत बर्षको सिजनमा प्रतिमन ३० हजार रुपैयाँ बिक्री गरेका किसानले यो वर्ष सुरुवातमै ५० हजार रुपैयाँमा अलैँची बिक्री गरेको पाइएको छ । अहिले यसको मूल्य बढेर प्रतिमन ७० हजार रुपैयाँ हाराहारी पुगेको छ,” उनले भने । 

    नेपालमा पूर्वी पहाडबाट अलैँचीको खेती सुरु भएको पाइन्छ । अहिले मुलुकको ५३ जिल्लामा यसको खेती भइरहेको भए पनि ४३ जिल्लाबाट मात्रै व्यावसायिक उत्पादन हुने गरेको छ । नेपालमा ‘डम्मरसाई’, ‘रामसाई’, ‘चिवेसाई’, ‘गोलसाई’, ‘राम्ला’, ‘साउने’लगायतका जातको अलैँची खेती गरिदैँ आएको पाइन्छ । 

    अलैँची विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा १५ हजार छ सय ६८ हेक्टर क्षेत्रफलमा ८ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । 

    यस्तै, आर्थिक वर्ष ०७६/७७ मा १६ हजार ५६२ हेक्टर जमिनबाट नौ हजार पाँच सय ४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा १८ हजार दुई सय ७३ हेक्टर जमिनमा अलैँची खेती भएको थियो । 

    उक्त वर्ष सात हजार नौ सय ५४ टन उत्पादन भएको तथ्याङ्क छ । केन्द्रका अनुसार आव ०७४/७५ मा १७ हजार चार हेक्टर जमिनमा अलैँची खेती हुँदा ६ हजार ८ सय ४९ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

    यता, मुलुकमा उत्पादन भएको २ प्रतिशत अलैँची मात्रै आन्तरिक खपत हुने व्यवसायीहरू बताउँछन् । नेपाली अलैँचीको मुख्य बजार भारत मात्र रहे पनि पछिल्लो समय जर्मनी, इटाली, युनाइटेड स्टेट्स, पाकिस्तान लगायत मुलुकमा निर्यात हुन थालेको छ ।

    यता, नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेसिया र चीनमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातिका अलैँचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् । 

    यो वनस्पति कुनै पनि भिरालो परेको जमिन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेती गर्न सकिन्छ । यसकारण अलैँची खेती गरेर खेर गएको जमिनमा सही सदुपयोग गर्न सकिन्छ साथै जमिनलाई भू–क्षय हुनबाट पनि बचाउन सकिन्छ ।

    बंगलादेशमा निर्यात गर्दा कर लाग्ने  

    महासङ्घका अध्यक्ष भट्टराईका अनुसार नेपालमा उत्पादन भएको करिब ९९ प्रतिशत अलैँची भारतमा निर्यात हुने गरेको छ । यसबाहेक, भुटानमा उत्पादन भएको अलैँची समेत भारतमा नै निर्यात हुने गरेको छ । यस आधारमा विश्वकै सबैभन्दा ठुलो आयातकर्ता भारत हो । भारतमा नेपाली अलैँचीको माग बढीरहेको उनले जानकारी दिए । 

    नेपाली अलैँचीको माग बंगलादेशबाट पनि हुने गरेको छ । तर, नेपालबाट बंगलादेशमा अलैँची पठाउँदा ३५ प्रतिशत कर तिर्नुपर्ने उनले गुनासो गरे । अध्यक्ष भट्टराईले भने “नेपालबाट बंगलादेशमा अलैँची निर्यात गर्दा ३५ प्रतिशत कर तिर्नु पर्ने अवस्था रहेको छ । जसकारण नेपाली अलैँचीले बंगलादेशमा अन्य मुलुकबाट जाने अलैँचीसँग प्रतिसपर्धा गर्न नसकेको अवस्था छ ।”

    हाल भुटानले शून्य करमा बंगलादेशमा अलैँची निर्यात गरिरहेको छ । त्यसैले नेपाली अलैँची बंगलादेशमा निर्यात गर्न सरकारले करलगायतका विषयमा नीतिगत सहजीकरण गर्न आवश्यक रहेको उनले बताए । यदी, सरकारले नीतिगत रूपमा सहजीकरण गरेर कर छुट हुने हो भने भारतपछि बंगलादेशमा पनि नेपाली अलैँचीको ठुलो बजार हुने देखिन्छ । 

    त्यस्तै, पाकिस्तानमा पनि नेपाली अलैँचीको बजार रहेको उनले बताए । तर, पाकिस्तान निर्यात गर्नको लागि भारतबाट पठाउँदा ४५ देखि ६० दिन लाग्ने अध्यक्ष भट्टराइको भनाइ छ ।

    भाडा महङ्गो भएकोले हवाई मार्गबाट पठाउन पनि असम्भव भएको उनी बताउँछन् । “हवाई मार्गबाट पाकिस्तान अलैँची पठाउँदा अलैँचीको औसत मूल्य भन्दा कममा निर्यात गर्न सकिदैन । कम, मूल्यमा निर्यात गर्दा किसानको लगानी उठ्दैन,” उनले भने । 

    अलैँची बेचेर ५ बर्षमा नेपालले कमायो २५ अर्बबढी

    भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले ५ आर्थिक बर्ष (२०७५/७६ देखि २०७९/८० सम्म) मा २५ अर्ब ४२ करोडभन्दा बढीको अलैँची निर्यात गरेको छ । 

    गत आर्थिक वर्ष २०७९/८० मा नेपालले ८ अर्ब २७ करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात गरेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । गत वर्ष नेपालबाट ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात भएको थियो । 

    यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट जम्मा ४ अर्ब ८१ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । जुन, आर्थिक वर्ष २०७७/७८ को तुलनामा मूल्य र परिमाणका आधारमा समेत न्यून हो ।

    आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ७ अर्ब १० करोड रुपैयाँ बराबरको ८८ लाख ४२ हजार किलोग्राम अलैँची निर्यात भएको थियो । यस्तै, आर्थिक बर्ष २०७६/७७ मा २ अर्ब ५३ करोड र २०७५/७६ मा २ अर्ब ७१ करोड रुपैयाँ बराबरका अलैँची निर्यात भएको थियो ।

    गत आर्थिक वर्षमा नेपालबाट पाकिस्तानतर्फ १ करोड ९० लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । यस्तै, इटालीमा १० लाख रुपैयाँको र जर्मनीमा ६ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । यसबाहेक, निर्यात भएको सम्पूर्ण अलैँची सबै भारत गएको तथ्याङ्कले देखाउँछ ।

    पाँच आर्थिक बर्षमा भएको अलैँची निर्यात

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार