काठमाडौँ / आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो ।
दोहा हुँदै काठमाडौँ आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए ।
अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए ।