काठमाडौँ / आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा ७ लाख १३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा कुल खेती योग्य जमिनको क्षेत्रफल ८ लाख २५ हजार ५ सय ७६ हेक्टर रहेकोमा जम्मा ७ लाख १३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा मात्र खेती भएको हो ।
समीक्षा वर्षमा कोशी प्रदेशमा रहेको कुल खेतीयोग्य क्षेत्रफलमा मोरङ जिल्लाको अंश सबैभन्दा बढी १४.२ प्रतिशत र ताप्लेजुङ जिल्लाको सबैभन्दा कम ३.३ प्रतिशत रहेको छ ।
यस्तै, २०८० असार मसान्तसम्म कोशी प्रदेशको कुल ३ लाख ८ हजार ३ सय १४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । जुन कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल खेतीयोग्य क्षेत्रफलको ३६.७ प्रतिशत भागमा यस्तो सुविधा पुगेको थियो ।
कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा सुनसरी जिल्लामा सबैभन्दा बढी ८५.२ प्रतिशत र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम १ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.३ प्रतिशतले बढेको थियो ।
यस्तो छ कोशी प्रदेशमा सिँचाइको जिल्लागत अवस्था
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कुल सिञ्चित क्षेत्रफलमध्ये कुलोबाट सिञ्चित क्षेत्रफल १.६ प्रतिशत, पोखरीबाट ८.४ प्रतिशत, नहरबाट १.७ प्रतिशत र बोरिङबाट १.३ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुलोबाट सिञ्चित क्षेत्रफल ३.९ प्रतिशत, पोखरीबाट ११.४ प्रतिशत, नहरबाट ०.८ प्रतिशत, र बोरिङबाट १ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा यस प्रदेशको कुल सिञ्चित क्षेत्रफलमध्ये कुलोको योगदान ४३.४ प्रतिशत, नहरको योगदान ३९.६ प्रतिशत, बोरिङको योगदान १.१ प्रतिशत र पोखरीको योगदान १५.९ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा कुलो, नहर, पोखरी तथा बोरिङ्गले सिँचित क्षेत्रफलको वृद्धि भएपनि कुल सिँचित अंशमा यिनीहरुको अंश भने गत वर्षको अंशसँग समान रहेको देखिन्छ ।
यस्तो छ कोशी प्रदेशमा सिँचाइका स्रोतको अवस्था