images
images

बालकुमारी आन्दोलन : दुई युवाको मृत्यु, किन भयो आन्दोलन ?

बालकुमारी आन्दोलन : दुई युवाको मृत्यु, किन भयो आन्दोलन ?

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • बालकुमारी आन्दोलन : दुई युवाको मृत्यु, किन भयो आन्दोलन ?
    images
    images

    काठमाडौँ / बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । 

    रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उनको भनाइ छ । उनले प्रदर्शनीको क्रममा घाइते भएकाको उपचारका क्रममा निधन भएको जानकारी दिए । 

    गोली लागेर दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरू शुक्रबार प्रदर्शनमा उत्रिएका हुन् । 

    प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

    किन भयो आन्दोलन ? 

    केही समयअघि दक्षिण कोरियामा ‘शीप बिल्डिङ’ अर्थात् पानीजहाज बनाउने कामको अवसरका लागि भाषा परीक्षा लिइएको थियो। उक्त परीक्षाको निर्णय आएपछि अनुत्तीर्ण आवेदकहरू श्रम तथा रोजगार विभागको ईपीएस शाखाले गरेको निर्णयसँग असन्तुष्ट देखिएका थिए । 

    ईपीएस शाखाले अनुत्तीर्ण आवेदकहरू दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि लिइने अर्को भाषा परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको थियो।

    तीमध्ये १८ जनाले उक्त निर्णयलाई अदालतमा चुनौती दिएका थिए। पाटन उच्च अदालतको आदेशपछि ईपीएस शाखाले अदालतमा मुद्दा दायर गर्ने आवेदकलाई मात्र परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो।

    वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले उच्च अदालत पाटनको अन्तरिम आदेशबमोजिम निवेदक सुरज पाठकसमेत १८ जनालाई फाराम भर्न पाउने गरे पनि अन्यको हकमा रोकिएको भन्दै विवाद सुरु भएको हो । 

    जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विभागको गत मंसिर १९ गतेको निर्णयविरुद्ध पुस ५ गते उच्च अदालतले आवेदन फाराम भर्न दिन अन्तरिम आदेश दिएको थियो ।

    सोहीबमोजिम शाखाले उच्च अदालतको निवेदक १८ जनालाई मात्रै आवेदन फाराम भर्न दिने बुधबारको निर्णयविरुद्ध योगेश खनाल, रुपेश लिम्बू, रोशन दनुवार, सुजन राईलगायततले उच्च अदालतमा पुनः रिट दायर गरेका थिए ।

    सबैले भाषा परीक्षामा सहभागी हुनु पाउनुपर्ने मागसहित शुक्रवार केही युवाहरूले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको भएको हो । 

    प्रदर्शनका कारण दिनभरि ललितपुरको ग्वार्को, बालकुमारी र आसपासको क्षेत्र तनावग्रस्त रहेको छ।  प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।

    डिआइजीको नेतृत्वमा छानविन समिति 
    बालकुमार घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिति बनाएको छ । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार