images
images

चिटिक्क लोमान्थाङः बस्ती हिलो र धुलोमुक्त, रातभरि उज्यालो

चिटिक्क लोमान्थाङः बस्ती हिलो र धुलोमुक्त, रातभरि उज्यालो

शनिवार, मंसिर २३ २०८०
शनिवार, मंसिर २३ २०८०
  • चिटिक्क लोमान्थाङः बस्ती हिलो र धुलोमुक्त, रातभरि उज्यालो

    माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय महत्त्वको लोमान्थाङको सडक र गल्लीमा ढुङ्गा छापिएपछि चिटिक्क परेको छ । 

    images
    images

    सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङको पर्यटकीय सहर तथा बस्ती पुनःउत्थान कार्यक्रमअन्तर्गत लोमान्थाङको पर्खालभित्रको सडक, पैदलमार्ग र गल्लीमा ढुङ्गा बिछ्याइएको हो । 

    सङ्घीय सरकारले गत वर्षदेखि सुरु गरेको ढुङ्गा छपान कार्य प्रभावकारी बनेपछि चालु आर्थिक वर्षमा प्रदेश सरकार र गाउँपालिकाले ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङलाई थप आकर्षित बनाउन उक्त योजनालाई पूर्णता दिएको लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताए ।
     
    लोमान्थाङका बस्तीलाई धुलो, हिलो मुक्त बनाईनेः 

    “लोमान्थाङका बस्तीलाई धुलो, हिलो मुक्त र सफा बनाउन पर्खालभित्रको सडक, गल्ली र पैदलमार्गमा ढुङ्गा छपाउने कार्यलाई निरन्तरता दिएका छौँ”, उनले भने, 
     “पर्खाल बाहिरको सडकलाई व्यवस्थित गर्न प्रदेश सरकारमार्फत ढलान हुँदैछ ।” ढुङ्गा छपान गरेपछि मौलिकताको संरक्षणसँगै धुलो उड्ने र हिलो हुने समस्या हटेर सफा सुग्घर बनेको छ । 

     

    यसअघि बस्तीभित्र छपाएको ढुङ्गा उप्किएका थिए । कतिपय ठाउँमा ढुङ्गा छपाइएको थिएन । आयोजनामार्फत आव २०७९÷८० मा लोमान्थाङ बस्तीभित्र ढुङ्गा छपानका लागि करबाहेक रू एक करोड २७ लाख छ हजार पाँच सय छ मा ठेक्का सम्झौता भएको विष्टले जानकारी दिए । 

    उक्त ठेक्कामार्फत चार हजार ४४ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा स्लेट ढुङ्गा छपान भएको आयोजनाका इन्जिनियर योगेन्द्र वस्ताकोटीले बताए । उनका अनुसार चालु आवमा ढुङ्गा छपानका लागि गाउँपालिकाले रू ७० लाख बजेट विनियोजन गरेको छ ।

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन हुनेगरी लोमान्थाङ बस्तीभित्रको सडक ढलान गर्न चालु आर्थिक वर्षमा रू पाँच करोड ५० लाख विनियोजन भएको गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए ।

    लोमान्थाङ स्वागत गेटबाट लोमनथाङ वाल वरिपरि ढलान बाटो निर्माणका लागि दुई शीर्षकमा रू पाँच करोड र अर्को ऐतिहासिक गाउँ वरपर पक्की सडक शीर्षकमा रू ५० लाख बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ।

    केही दिनअघि लोमान्थाङ पुगेर फर्कनुभएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको लोमान्थाङ बस्तीलाई व्यवस्थित बनाउन मन्त्रालयले प्राथमिकता दिएको बताए । 

    एक सय ५० सडकबत्ती जोडेर रातको समयमा उज्यालोः 

    चीनको स्वशासित क्षेत्र तिब्वतसँग सिमाना जोडिएको छ । लोमान्थाङ पालिकाको केन्द्रसमेत रहेकाले यहाँका सडक र गल्लीमा नाली निर्माण गरेर ढल व्यवस्थापन गरिएको जनाइएको छ । 

    ‘चोक र सडक छेउमा एक सय ५० सडकबत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको छ,’ अध्यक्ष गुरुङले बताए, अनुसार बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ ।’ 

    माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब दुई सय माटोले बनेका घर छन् । 

    तीस फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । 

    प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरता अवलोकनका लागि लोमान्थाङमा पर्यटक आउँछन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार