धुलिखेल / काठमाडौँ विश्वविद्यालय (केयु)ले शुक्रबार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन आयोजना गरेको छ । ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ विषयक सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ ।
सम्मेलनमा सहभागी उपकुलपतिहरूले नेपालका विश्वविद्यालयहरूले आज भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरे । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरे ।
सहभागीहरूले काठमाडौँ विश्वविद्यालयको आयोजनामा आगामी फेब्रुअरी १५–१६, २०२४ मा हुने उत्तर भारतका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको बैठकअघि नेपालका विश्वविद्यालयहरूको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता जनाए ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मूल क्याम्पसमा भएको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलगायत विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १ सय ५० भन्दा बढी शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्त्व औँल्याए । उच्च शिक्षा संस्थारूको स्वायत्तताको आवश्यकताबारे प्रकाश पार्दै दाहालले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
“विश्वविद्यालय अनुदान आयोग अन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधान तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बनाउन विश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,” दाहालले भने ।
राज्यमन्त्री प्रमिला कुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्नेमा जोड दिइन् । “सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयका प्रावधानहरू निर्माण गरेर मात्र यस्तो लक्ष्य प्राप्त गर्न सम्भव छ ।” कुमारीले राष्ट्रिय र वैश्विक शैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्च शिक्षालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन् ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तहमा शिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । थापाले उच्च शिक्षाको भविष्यका मार्गहरू पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए ।
थापाले विश्वभरका नीतिविद्, विश्वविद्यालयका अधिकारी र विद्वानहरूको भेला हुनु नेपालको उच्च शिक्षालाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताए । “साझा शैक्षिक हितको उद्देश्यले ज्ञान आदान प्रदान र सहकार्य गर्ने हाम्रो पहल हो ।”
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्नेतर्फ जोड दिए । शर्माले द्रुत रूपमा परिवर्तन भइरहेका स्थानीय र विश्वव्यापी परिदृश्यहरूसँग नेपालको शिक्षा पद्धतिलाई एकाकार बनाउन प्राविधिक रूपमा राम्रो बहु–विधागत सिकाइका स्थानहरूको महत्त्वका बारे प्रकाश पारे ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अच्युत प्रसाद वाग्लेले उच्च शिक्षाका पेशाकर्मीमाझ पेशागत इमान्दारी र नैतिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले सम्मेलन शैक्षिक वातावरणमा सकरात्मक प्रभाव पार्ने विन्दुहरूलाई जोड्ने पहल रहेको समेत बताए । “अहिले हामी जहाँ छौँ, त्यहीबाट उत्कृष्टता हासिल गर्नु बुद्धिमतापूर्ण हुन्छ । त्यसका लाथि हामीले उच्च शिक्षाका सवालमा केन्द्रित हुने खुकुलो बौद्धिक बहस र संवादको पहल गर्ने निकाय निर्माण गर्नु आवश्यक छ,” वाग्लेले भने ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समापन सत्रमा बोल्दै काठमाडौँ विश्वविद्यालयको पहलमा आयोजित सम्मेलने आयोगको पूरकको रूपमा काम गरेको बताए । सम्मेलनले नेपालमा उच्च शिक्षाको सुदृढीकरणका र अन्तर्राट्रियकरणका लागि उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे ।
सम्मेलनका प्राविधिक सत्रमा विश्वविद्यालयका शीर्ष नेताहरूले नेपालका शैक्षिक भविष्यका लागि मार्गचित्र प्रस्तुत गरेका थिए । नेपाल खुला विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले उच्च शिक्षालाई आकार दिने उद्देश्यसहित खुला शिक्षामा भएका पहलका बारे बताइन् । उनले देश र विदेशका हरेक कुनाबाट सिक्न चाहनेहरूलाई पहुँचयोग्य स्व–निर्देशित, खुला सिकाइका अवसरको आवश्यकता माथि प्रकाश पारिन् ।
नेपाल विश्वविद्यालय विकास बोर्डका अध्यक्ष अर्जुन कार्कीले नेपालको उच्च शिक्षालाई मानविकी तथा कला अध्ययनको माध्यमबाट थप सान्दर्भिक बनाउने बारे बताए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्म राज जोशीले विद्यार्थी आदानप्रदान र गतिशीलता कार्यक्रम मार्फत उच्च शिक्षाको भविष्यको रूपान्तरण गर्न सकिनेमा जोड दिए ।
गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले नेपाली उच्च शिक्षालाई विश्वसँग जोड्न नेपालमा भइरहेका प्रयासका सबल र दुर्बल पक्षका बारे प्रकाश पारे ।