images
images

आयात घट्दा भाइमसलाको भाउ बढ्यो, कुनको कति ?

आयात घट्दा भाइमसलाको भाउ बढ्यो, कुनको कति ?

माग घटेका कारण केही बर्षयता भाइमसलाको मूल्य स्थिर रहेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ । यद्यपि बजारमा भने १५ प्रतिशतसम्म मूल्य बढेको देखिन्छ ।

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • आयात घट्दा भाइमसलाको भाउ बढ्यो, कुनको कति ?

    काठमाडौँ / तिहारमा भाइटीकाको विशेष महत्व हुन्छ । भाइटीकाको लागि चाहिने भाइ मसला भनेर सुख्खा नरिवल, ओखर, काजु, बदाम, सुपारी, पेस्ता, किममिस, ल्वाङ, सुकुमेल र छोकडा आदिलाई भनिन्छ ।

    images
    images

    भाइटीकामा भाइमसलाको खपत ठूलो परिणाममा हुने गरेको छ । यी सामाग्री प्रायः भारतबाट आयात हुन्छ । अरु समयमा भन्दा बढी तिहारका बेला यी सामाग्रीको माग बजारमा बढी हुन्छ र उपभोक्ताले पनि बढी नै खरिद गर्छन् ।

    भाइमसला अन्तर्गत पर्ने यी सामाग्री चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब १२ लाख रुपैया भन्दा बढिको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । गत वर्षको ३ महिनामा भने करिब साढे १ अर्ब भन्दा बढिको आयात भएको थियो । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तीन महिनामा (साउनदेखि असोजसम्ममा) गत बर्ष भन्दा कम भाइमसला आयात भएको छ । 

    भाइटीकामा भाइमसलाको प्रयोग अनिवार्य नै हुँदा तिहारको समयमा यस सम्बन्धी सामाग्रीहरुको बढी खपत हुने गरेको छ । तर पनि यसपटक भाइमसलाको आयात गत बर्षको तुलनामा ३०.२८ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

    चालु आर्थिक बर्षको असोज मसान्तसम्म १ अर्ब १२ करोड ८२ लाख ९० हजार बराबरको ७९ लाख १२ हजार २३२ किलो भाइमसला आयात भएको छ । उक्त सामाग्रीहरुको आयातबाट विभागले ६३ करोड १९ लाख राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधीमा १ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ बराबरको ९९ लाख ५० हजार किलो भाइमसला आयात भएको थियो । जसबाट सरकारले ९७ करोड ८१ लाख राजस्व संकलन गरेको थियो । नेपालमा भाइमसलाजन्य ड्राइफ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्याण्ड लगायतका मुलुकबाट आयात हुने गरेको छ ।

    भाइमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुने गर्छ । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार हाल विभागको तथ्याङ्कमा भाइमसलाजन्य ड्राइफ्रुट्सको आयात कम भएपनि बजारमा यी वस्तुहरूको अभाव भने छैन । 

    कुन सामाग्री कति रुपैयाँको आयात भए ? भन्सार विभागको तथ्याङ्गले यस्तो देखाउँछ

    १३ करोड ९० लाखको काजु आयात

    तिहारका लागि चालु वर्षको असोज महिनासम्म विभिन्न देशहरुबाट १३ करोड ९० लाख ८१ हजार रुपैयाँ बराबरको २ लाख २ हजार २८१ किलो काजु आयात भएको छ । तीन महिनामा भारत, भियतनाम, नाइजेरिया, मोजाम्बिक लगायत अन्य मूलुकहरूबाट नेपालमा उक्त परिणामको काजु आयात भएको हो । विभागको अनुसार गत वर्षको यस बर्ष काजु आयात पनि कम भएको छ ।

    गत वर्ष सोही अवधिमा ३१ करोड १३ लाख ६७ हजार बराबरको ४ लाख ३७ हजार २२९ किलो काजु आयात भएको थियो । यो वर्ष आयातित मध्ये सबैभन्दा धेरै काजु छिमेकी मुलुक भारतबाट भित्रिएको विभागको तथ्यांकमा छ । यस बर्ष भारतबाट मात्रै ८ करोड ६९ लाख ८८ हजार रुपैयाँ बराबरको १ लाख २७ हजार ६५४ किलो काजु आयात भएको तथ्याङ्क छ ।

    बदाम आयात बढ्यो 

    चालु आर्थिक बर्षको तीन महिनामा १९ करोड ७ लाख २१ हजार बराबरको २ लाख ५० हजार १५३ किलो बदाम आयात भएको छ । विभागको तथ्याङ्क अनुसार तिहारमा भाइमसलामा प्रयोग हुने अन्य खाद्य वस्तुको आयात घटेको भएपनि बदामको आयात भने बढेको छ । गत वर्ष १४ करोड ४७ लाख बराबरको बदाम आयात भएको थियो ।

    चालु आर्थिक बर्ष २०८०/८१ को तिन महिनामा आयात भएको भाइमसलाको तथ्याङ्क

    2.JPGस्रोतः भन्सार विभाग

    सबैभन्दा धेरै ओखर आयात

    यस वर्ष सबैभन्दा धेरै ओखर आयात भएको छ। भाइमसलामा नभइ नहुने सामाग्री ओखर पछिल्लो तीन महिनामा ३७ करोड ६५ लाख २१ हजारको १० लाख ९६ हजार ४०१ किलो ओखर आयात भएको तथ्याङ्क छ । नेपालमा दन्ते ओखर (कमलो खालको) भनेर चिनिने ओखर विशेषगरि चीनबाट आयात हुन्छ । असोजसम्म चीनबाट ३६ करोड ४२ लाख बराबरको १० लाख ६० हजार किलो ओखर भित्रिएको छ । यस्तै चिलीबाट १ करोड २२ लाख बराबरको ३६ हजार किलो ओखर आयात भएको छ। गत आर्थिक बर्षको सोहि अवधीमा २६ करोड १७ लाख ३१ हजार रुपैयाँ बराबरको ओखर आयात भएकोे थियो ।

    ७१ प्रतिशतले घट्यो सुपारीको आयात

    चालु आर्थिक बर्षको तीन महिनामा १२ करोड १८ लाख २५ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ । जुन गत आर्थिक बर्षको तुलनामा ७१.१० प्रतिशतले कम हो । गत आर्थिक बर्षको सोहि अवधीमा ४२ कारेड १५ लाख ५८ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको थियो ।

    २ लाखको खजुर आयात 

    चालु आर्थिक बर्षको तीन महिनामा २ लाख ३ हजार बराबरको १ हजार ७४४ किलो खजुर आयात भएको छ । यस बर्ष भाइमसलामा प्रयोग हुने खजुर आयात भने बढेको तथ्याङ्क छ । गत आर्थिक बर्षको सोहि अवभीमा ७ हजार रुपैयाँ बराबरको ६४ किलो मात्रै खजुर आयात भएको थियो । 

    किसमिस आयात पनि बढ्यो 

    चालु आर्थिक बर्षको तीन महिनामा ९ करोड ४ हजार रुपैयाँ बराबरको २ लाख ८२ हजार १६५ किलो किसमिस आयात भएको छ । जुन गत आर्थिक बर्षको भन्दा बढि हो । गत आर्थिक बर्षमा ६ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको २ लाख ८५ हजार ३२२ किलो किसमिस आयात भएको थियो । 

    गत आर्थिक बर्ष २०७९/८० को तिन महिनामा आयात भएको भाइमसलाको तथ्याङ्क 

    3.JPGस्रोतः भन्सार विभाग

    दुई–तिन बर्ष यता भाइमसलाजन्य ड्राइफ्रुट्सको मूल्य खासै बढेको छैन– अध्यक्ष श्रेष्ठ

    “केही बर्ष अघिसम्म भाइमसलाजन्य ड्राइफ्रुट्सहरूको आयात तिहारको समयमा मात्रै हुने गरेको थियो, हाल यस्ता वस्तुहरू बाह्मास बिक्छ”, अध्यक्ष श्रेष्ठले भने, “कोभिडको समयमा घटेको व्यापारले अहिलेसम्म पनि गति लिन सकेको छैन ।” 

    पछिल्लो समय विश्व चरम आर्थिक मन्दिबाट गुज्रिरहेको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा समेत देखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार रुस–युक्रेन युद्धको कारणले सुस्ताएको बजार अझै चलायमान हुन सकेको छैन । 

    बजारमा माग वृद्धि हुन नसकेपछि पछिल्लो केहि बर्ष यता भाइमसलाजन्य ड्राइफ्रुट्सको मूल्य खासै वृदिध नभएको श्रेष्ठ बताउँछन् । उनले भने, “बजारमा माग खासै बढेको छैन । माग बढेपछि मूल्य बढ्नु र माग नहुँदा मूल्य घट्नु स्वभाविक हो । पछिल्लो दुई–तिन बर्ष यता भाइमसलाजन्य ड्राइफ्रुट्सको मूल्य खासै बढेको छैन ।” 

    यद्यपी बजारमा यी वस्तुहरूको मूल्य भने १० प्रतिशतदेखि १५ प्रतिशतसम्म बढेको पाइन्छ । गत बर्ष प्रतिकिलो १४ सय ५० रुपैयाँसम्म बिक्री भएको काजु यस बर्ष गुणस्तर हेरेर प्रतिकिलो १५ सय देखि १७ सयसम्म बिक्री भइरहेको व्यापारीहरूले जनाएका छन् । यस्तै, गत वर्ष किलोको दुई हजारदेखि २१ सय रुपैयाँसम्म बिक्री भएको पिस्ता यस बर्ष २२ सय रुपैयाँ पर्छ । 

    यस्तै, नेपाल खुद्रा व्यापार संघका अनुसार यस वर्ष भाइमसलाको मूल्य गत बर्षको तुलनामा सामान्य बढेको छ । संघका अनुसार यस वर्ष केही भाइमसलाको आयात कम हुनु तथा राम्रो वस्तु आयात नहुनुका साथै महँगो नै भएर आउँदा मूल्य बढेको हो । 

    संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष काजुको मूल्य प्रति किलो १५ सय ५० रुपैयाँ छ भने अलमण्ड प्रति किलो १२ सय ५० रुपैयाँ छ । ओखर ४७० र सुपारी प्रतिकिलो १३ सय रुपैयाँ छ । गत बर्ष काजु प्रति किलो १४ सय ५०, अलमण्ड ११ सय ५० र ओखर ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    ‘यसपाली केही सामानको सामान्य मूल्य बढेको छ । काजु तथा अलमण्ड लगायत सामाग्रीको मूल्य गत वर्षको तुलनामा बढेको छ । तर ओखर धेरै आउँदा ओखरको मूल्य भने घटेको छ‚’ संघका कोषाध्यक्ष वसन्त श्रेष्ठले भने ।

    यस्तो छ यस बर्षको भाइमसलाजन्य ड्राइफ्रुट्सको बजार मूल्य 1.JPGस्रोतः खुद्रा व्यापार संघ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार