images
images

तीन महिनामा सवा ५ अर्बको विद्युतीय सवारी आयात, भित्रियो २ हजार १३५ वटा

तीन महिनामा सवा ५ अर्बको विद्युतीय सवारी आयात, भित्रियो २ हजार १३५ वटा

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • तीन महिनामा सवा ५ अर्बको विद्युतीय सवारी आयात, भित्रियो २ हजार १३५ वटा

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँका चारपांग्रे विद्युतीय सवारी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्कअनुसार चालु आर्थिक बर्षका तिन महिनामा अर्थात साउन, भदौ र असोजमा २ हजार १३५ वटा विद्युतीय सवारी आयात भएको हो । 

    images
    images

    सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीको कर दर घटाएको थियो भने सय किलोवाटभन्दा मुनिका सवारीमा करको दर बढाएको थियो । यसरी करको दर घटाए पनि सय किलोवाटभन्दा माथिका सवारीको आयात बढ्न नसकेको भन्सार विभागको तथ्यांकले पुष्टि गरेको छ । 

    सय किलोवाटभन्दा मुनिका सवारीमा करको दर बढे पनि उपभोक्ताको आकर्षण उस्तै रहेको पाइएको छ । विभागका अनुसार ५१ देखि सय किलोवाटसम्मका सबैभन्दा बढी १ हजार १ सय ६६ वटा सवारीसाधन आयात भएका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा सय किलोवाटभन्दा मुनिका सवारीसाधन नै सबैभन्दा धेरै आयात भएको विभागको तथ्यांक छ । यस्तै, सबैभन्दा कम २ सयदेखि ३ सय किलोवाटसम्मका सवारी ३ वटा आयात गरिएको छ । 

    विभागको तथ्याङ्क अनुसार ५० किलोवाटसम्मका ९ सय ५४ वटा सवारीसाधन आयात भएका छन् । विभागका अनुसार १ सय १ देखि २ सय किलोवाटसम्मका सवारी १२ वटा आयात गरिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका थिए । उक्त अवधिमा सय किलोवाटसम्मको ६ सय ८६ वटा सवारीसाधन आयात भएका थिए । सय किलोवाटदेखि २ सय किलोवाटसम्मका १७ वटा र २ सयदेखि ३ सय किलोवाटसम्मका २ वटा सवारी आयात भएका थिए ।

    कुन देशबाट कति विद्युतीय गाडी आयात ?

    तीन महिनामा चीनबाट ५० किलोवाटसम्मका ५ वटा, ५१ देखि १०० किलोवाटसम्मका १ हजार ३५ वटा, १०१ देखि २०० किलोवाटसम्मका ८ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ३ वटा विद्युतीय कार आयात भएको छ। त्यस्तै भारतबाट ५० किलोवाटसम्मका ९ सय ४२ वटा, ५१ देखि १०० किलोवाटसम्म १ सय ३१ वटा आयात भएको छ भने जर्मनीबाट १०१ देखि २ सय किलोवाटसम्मको २ वटा विद्युतीय कार आयात भएको छ। 

    इन्डोनेसियाबाट ५० किलोवाटसम्मका ७ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यसैगरी कोरियाबाट १०१ देखि २०० किलोवाटसम्मका २ वटा कार नेपाल भित्रिएको छ। सबैभन्दा धेरै विद्युतीय कार नेपालमा भारतबाट आएको छ। भारतबाट ३ महिनामा १ हजार ७३ वटा विद्यतुीय कार नेपाल आएको छ। यसैगरी दोस्रोमा धेरै चीनबाट १ हजार ५१ वटा विद्यतुीय कार नेपाल आएको छ।

    भन्सारदर र अन्तः शुल्कमा सहुलियत

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सारदर र अन्तः शुल्कमा सहुलियत दिएको थियो । सरकारले २०८०/८१ को बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिको सवारी साधनको आयातमा भन्सार दर र अन्तः शुल्क घटाएको थियो ।

    अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लाग्ने कुरा व्यावहारिक नभएकाले ५ वर्गमा विभाजन गरेर व्यावहारिक मात्र बनाएको बताएका थिए ।अघिल्लो आर्थिक बर्ष २०७९/८० मा तत्कालीन प्रधान्मन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको भन्सार दर र अन्तशुल्क बढाएको थियो ।

    सरकारले गत आर्थिक बर्ष २०७९/८०  मा तत्कालीन प्रधान्मन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको भन्सार दर र अन्तशुल्क बढाएको थियो । उक्त आर्थिक बर्षमा बजेटमार्फत् विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरी १०० किलोवाटसम्मका लागि १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका लागि ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र ३०० किलोवाटभन्दा माथिका लागि ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको थियो।

    त्यसलाई परिवर्तन गर्दै यो वर्षको बजेटमार्फत् ५ वर्गमा विभाजन गरी ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल, ५० देखि १०० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क, १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र सोभन्दा बढी क्षमताको हकमा साविकबमोजिमकै दरमा लाग्ने व्यवस्था गरेको छ ।

    गत बर्ष ११ अर्ब ८४ करोड रुपैयाँको विद्युतीय सवारी आयात !

    गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४ हजार ५० विद्युतीय सवारी साधन नेपालले आयात गरेको थियो । गत आर्थिक वर्षको तथ्यांक अनुसार १ वर्षमा ११ अर्ब ८४ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको ४ हजार ५० वटा विद्युतीय गाडी आयात भएको हो । उक्त विद्युतीय गाडी आयातबाट सरकारले तीन अर्ब ३० करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको तथ्यांक छ । विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्षको असार महिनामा मात्रै एक सय ८० वटा विद्युतीय गाडी नेपाल भित्रिएको थियो । 

    अघिल्लो आर्थिक वर्ष २०७८/७९मा नेपालमा जम्मा १ हजार ८०७ वटा विद्युतीय सवारी आयात भएका थियो। यो हिसाबले एक वर्षमै विद्युतीय सवारीसाधनको आयात करिब १२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा ५० किलोवाट क्षमताका ३ हजार ७५९ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २७२ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका १५ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा सवारीसाधन भित्रिएका छन्। अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा विद्युतीय सवारीसाधनको ५ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको थियो। 

    देशभर ५१ चार्जिङ स्टेशन

    नेपाल विद्युत् प्राधिकरणले ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन सञ्चालन गरेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन निर्माण गरेको हो । 

    आन्तरिक रुपमा विद्युत्‌को खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेशन स्थापना गरेको प्राधिकरणले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार