images
images

किन आकाशिदैछ प्याजको मूल्य ? नेपाली उत्पादन किन बढ्न सकेन ?

किन आकाशिदैछ प्याजको मूल्य ? नेपाली उत्पादन किन बढ्न सकेन ?

प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म पर्ने प्याजलाई अहिले उपभोक्ताले १५० रुपैयाँसम्म तिर्नुपरेको छ !

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • किन आकाशिदैछ प्याजको मूल्य ? नेपाली उत्पादन किन बढ्न सकेन ?

    काठमाडौँ / भारतीय बजारमा प्याजको मूल्य पुनः बढेको छ । भारतीय सञ्चार माध्यमको अनुसार एक हप्तामा नै भारतीय खुद्रा बजारमा प्याजको मूल्य १८ प्रतिशतसम्म वृद्धि भएको हो । भारतको महाराष्ट्र राज्यको एग्रिकल्चर प्रोड्युस मार्केट कमेटीका अनुसार १५ दिनमा प्याजको मूल्यमा ६० प्रतिशतको वृद्धि देखिएको छ । भारतको राजधानी दिल्लीमा ५० रुपैयाँ प्रतिकिलो रहेको प्याज १५ दिनमा ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । 

    images
    images

    भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा प्याजको मूल्यमा २५ देखि ५० प्रतिशतसम्म बढेको छ । यस्तै, महाराष्ट्रमा पनि प्याजको मूल्य प्रतिकिलो ५० रुपैयाँभन्दा धेरै पुगेको छ । भारतको केन्द्र सरकारले गत अगस्टमै प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको थियो । यो व्यवस्था डिसेम्बर ३१ सम्म लागू हुने भारतीय निकायले जनाएका छन् । 

    भारतीय बजारमा मूल्य वृद्धि भएसंगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ, कारण नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ । नेपालीहरूले दैनिक उपभोग गर्ने अधिकांश वस्तु भारतबाट आयात हुँदै आएको छ । के खाने के नखानेदेखि कुन बस्तु कति रुपैयाँमा खरिद गर्नेसम्मको निर्णय भारतीय बजारको आधारमा हुन्छ । दाल, चामल, गहुँ, नुन, प्याजदेखि हरियो तरकारीसम्म खाद्यान्नका लागि परनिर्भर नेपाली भान्साका लागि प्याज फेरि महँगो पर्ने भएको छ ।  भारतले गत भदौ महिनामा प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि महँगिएको प्याज अहिले पुनः बढेको छ । यसअघि प्रतिकेजी १२० रुपैयाँसम्ममा बजारमा खरिद बिक्री भएको प्याज अहिले बढेर १५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताउँदै आएका छन् ।

    प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म पर्ने प्याजलाई अहिले भने उपभोक्ताले १५० रुपैयाँसम्म तिर्नुपरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेल प्याजको मूल्यवृद्धि र कालोबजारीको विषयमा गुनासो नआएको बताउँछन् । उनले भने, “भारतीय बजारमै प्याजको मूल्य बढेको जानकारी अनौपचारिक रूपमा पाएका छौँ तर नेपाली बजारमा प्याजको विषयमा अहिले गुनासो आएको छैन । बजारबाट गुनासो आएको अवस्थामा र आपूर्तिमा समस्या आएमा हामीले के गर्ने भन्ने निर्णय गर्नेछौँ ।”

    आर्थिक वर्ष २०७९/८० मा नेपालमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँको प्याज आयात भएको थियो, जसमध्ये ६ अर्ब ७५ करोड ९ लाख २२ हजार रुपैयाँको प्याज भारतबाट नै आयात भएको थियो । प्याजका लागि भारतमाथि नै निर्भर रहेकाले भारतमा प्याजको मूल्यमा हुने उतारचढावले नेपालमा निरन्तर प्रभाव पार्दै आएको छ । प्याजको मूल्यमा देखिएको वृद्धिले नेपालीको भन्सामा प्याज काट्दा मात्रै नभई अब प्याज किन्दा पनि आसु आउने स्थिति सिर्जना भएको छ । यसपटक पनि भारतमा प्याजको मूल्यमा वृद्धि देखिँदा नेपालमा पनि यसले असर पार्ने स्पष्ट रहेको जानकारहरु बताउँछन् ।

    किन आकाशिदैछ प्याजको मूल्य ? 

    भारतीय बजारमा पछिल्ला केही दिनमा मात्रै प्याजको मूल्यमा ५० प्रतिशतले वृद्धि भएपछि नेपालमा पनि महँगिएको हो । भारतमा प्याजको मूल्य प्रतिकेजी १ सय रुपैयाँसम्म पुगेको छ । तिहारको समयमा प्याजको माग बढ्ने भएको कारण मूल्य अझै बढ्ने अनुमान गरिएको छ । भारतका धेरै राज्यमा भारी वर्षाका कारण प्याजको मूल्यमा असर परेको बताइएको छ । महाराष्ट्र, कर्नाटकलगायत राज्यमा वर्षाका कारण प्याज बाली नष्ट भएको थियो । जसका कारण प्याज उत्पादनमा ठूलो कमी आएको छ । अहिले विस्तारै भारतीय बजारमा प्याजको स्टक पनि सकिएको कारणले भाउ दोब्बरले बढेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

    भारत सरकारले भदौदेखि नै बफर प्याजको आपूर्ति बढाउँदै आएको छ । यससँगै मूल्य घटाउन खुद्रा बिक्री पनि बढिरहेको छ। नोभेम्बरमा प्याजको भाउ अझै बढ्ने र डिसेम्बरमा भने घट्न सक्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतीय बजारमा भाउ बढेकोले नेपालमा पनि प्याज महँगिएको बताए । 

    नेपालको प्याज लोकल बजारमै खपत हुने र यी तरकारी बजारसम्म नआइपुग्ने उनको भनाइ छ । श्रेष्ठले भने, “नेपाली उत्पादन सिजनल र सीमित हुन्छ । काठमाडौँ जस्तो ठुलो बजारसम्म नेपाली प्याज आइपुग्दैन । ठुलो बजारलाई धान्न हरेक दिन भारतीय बजारबाट ४० देखि ५० टनसम्म प्याज आयात हुन्छ । स्वाद र साइजका हिसाबले चाइनिज प्याज उपभोक्ताहरूले रुचाउँदैनन् ।” नेपालका ठुला बजारहरूमा नेपाली उत्पादनले माग नधान्दा बाहिरी मुलुकबाट आयात गर्नेपर्ने बाध्यता रहेको सरोकारवालाहरूको भनाइ छ ।  

    माग धेरै, उत्पादन कम

    अधिकांश नेपालीको भान्सामा पुग्ने भारतीय प्याजमा मुलुक निर्भर छ । औसतमा नेपालमा करिब ४ लाख १ हजार मेट्रिक टन प्याजको माग रहेको हुन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तथा बिरुवा संरक्षण अधिकृत तोयानाथ जोशीका अनुसार नेपालमा १३ हजार १८९ हेक्टर क्षेत्रफलमा प्याज उत्पादन गरिन्छ । १ हेक्टरमा १२.६५ मेट्रिक टन उत्पादन हुन्छ । जसको आधारमा नेपालमा बार्षिक रूपमा १ लाख ६६ हजार ९०४ मेट्रिक टन प्याज उत्पादन हुन्छ । चाडपर्वको समयमा भने प्याजको माग बढी हुन्छ । नेपालमा उत्पादन भएको प्याजले करिब १ तिहाइ माग धान्ने जोशीले बताए । नेपालका ठुला बजारहरूमा नेपाली उत्पादनले माग नधान्दा बाहिरी मुलुकबाट आयात गर्नेपर्ने बाध्यता रहेको सरोकारवालाहरूको भनाइ छ । 

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश १ मा १ हजार ९९४ हेक्टर जमिनमा खेती हुँदा प्रतिहेक्टर १२.१० मेट्रिक टनका दरले २४ हजार १३५ मेट्रिक टन प्याज उत्पादन भएको थियो । त्यस्तै, सोही आर्थिक वर्षमा मधेस प्रदेशमा १० हजार ८३७ हेक्टर जमिनमा खेती गरिएकोमा प्रतिहेक्टर १५.८४ मेट्रिक टनका दरले १ लाख ७१ हजार ६४९ मेट्रिक टन प्याज उत्पादन भएको थियो ।

    सोही आर्थिक वर्षमा बागमती प्रदेशमा १ हजार १२२ हेक्टर जमिनमा खेती गरिँदा प्रतिहेक्टर ११.८० मेट्रिक टनका दरले १३ हजार २४६ मेट्रिक टन प्याज उत्पादन भएको थियो भने गण्डकी प्रदेशमा ६८२ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १२.६३ मेट्रिक टनका दरले ८ हजार ६६२ मेट्रिक टन प्याज उत्पादन भएको थियो । 

    लुम्बिनी प्रदेशमा २ हजार ८२३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १४.१४ मेट्रिक टनका दरले ३९ हजार ९११ मेट्रिक टन, कर्णाली प्रदेशमा ७४९ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.३२ मेट्रिक टनका दरले ८ हजार ४८२ मेट्रिक टन र सुदुरपश्चिम प्रदेशमा २ हजार ४३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.२६ मेट्रिक टनका दरले २ हजार ११ मेट्रिक टन प्याज उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । यद्यपि, नेपालमा उत्पादित प्याज ठुला तरकारी बजारसम्म नआइपुग्ने  कालीमाटी फलफूल तथा विकास समितिले जानकारी दिएको छ ।

    किसानलाई प्याज खेतीमा किन आकर्षित गर्न सकिएको छैन ?

    किसान प्याज खेतीतर्फ आकर्षित हुन नसक्दा उन्नत किसिमको जात भए पनि व्यवसायिक प्याज खेती हुन नसकेको अधिकृत जोशीले बताए । प्याज खेती गर्ने समय असोज कार्तिक हो । प्याज लगाउने हिउँदको समयमा सिँचाइ राम्रो चाहिने र त्यो समयमा प्याज लगाउन भन्दा गहुँजस्ता अन्न लगाउन किसानहरूलाई सहज हुन्छ । ‘प्याज त नखाए पनि हुन्छ, रोटी त खानैपर्छ । अनि लागत मूल्य कम पर्ने गहुँकै खेती किसानको रोजाइमा पर्छ,’ जोशीले भने । त्यसबाहेक किसानले दुख गरेर जोगाएको प्याज भारतबाट आयात हुने प्याजसँग बजारमूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा किसानहरू प्याज खेतीमा आकर्षित नहुने गरेको जोशीले बताए ।

    तापक्रम कम भएको, पानी र छाया पर्ने मौसम पाल्पादेखि दैलेखसम्मको मध्यपहाडी क्षेत्र भएकोले यो क्षेत्रमा मात्रै प्याजको बिउ उत्पादन गर्न सकिने उनी बताउँछन् । हाल नेपालमा चार ओटा जातको प्याज लगाइन्छ । जोशीका अनुसार प्याजको बिउ उन्नत छन् तर किसानले सजिलै पाउँदैनन् । उनले भने, “सरकारी स्तरबाट बिउ उत्पादनका लागि पहल भएको छ । कृषि अनुसन्धान परिषद्ले दैलेखमा सञ्चालन गरेको फर्मले बार्षिक २ सय केजी प्याजको बिउ उत्पादन गर्दै आएको छ । तरकारी बिउ उत्पादन केन्द्र, रुकुम पश्चिमले बार्षिक ३०० केजी प्याजको बिउ उत्पादन गर्छ । उक्त फर्मको एरिया थोरै भएको कारणले त्योभन्दा बढी उत्पादन गर्ने क्षमता छैन ।

    उक्त फर्मको लागि जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै बजेट छुट्याइएको छ । जसमा १ करोड रुपैयाँ तलबमै जान्छ होला, ७० लाख रुपैयाँ मात्रै फर्मको लागि हो ।” उत्पादन बृद्धि गर्ने हो भने प्याजका लागि काम गरिरहेका निकायहरूको बजेट बढाउनुपर्ने हुन्छ । तर, यी क्षेत्रहरूमा पर्याप्त बजेट आउन नसक्नु राष्ट्रिय समस्या नै हो । सरकारले कृषिलाई प्राथमिकता दिने भने पनि कृषि क्षेत्रका लागि बजेट पर्याप्त छैन । भारतले पनि प्याजको बिउ निर्यात गर्दैन र नेपालमा उत्पादन हुने बिउ पर्याप्त नभएको कारणले पनि प्याज उत्पादन बृद्धि नभएको उनले बताए ।

    त्यस्तै, प्याजको बिउ उत्पादन गर्न सामान्य ज्ञानले पुग्दैन । प्याजको बिउ भण्डारण, प्याकेजिङ र ह्याण्डलिङ गर्दा विशेष ध्यान पुर्याइएन भने उम्रिदैन । यसको उमारशक्ति ह्याण्डलिङसँग सम्बन्धित छ । त्यसैले प्याज बिउ उत्पादन प्रकिया ‘हाइली टेक्निकल’ छ । सामान्य किसानले प्याजको बिउ उत्पादन गर्न सक्दैन । उनले भने, “लागत मूल्य बढी पर्ने भएको कारणले पनि अरु बालीजस्तो प्याज खेतीतर्फ किसान आकर्षित हुन सकेको छैन । भारतमा दुई सिजनमा प्याज उत्पादन हुन्छ । भारतमा उत्पादन बढी भएको समयमा आयात हुने भारतीय प्याजसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन ।”

    साथै, बजारको सूचना नहुँदा नेपालमा उत्पादन भएको कृषि उपजले बजार नपाएको उनले बताए । “बजारको पहुँच छैन । किसानले आफ्नो उत्पादन कहाँ लाने ? माग कहाँ छ ? भन्ने कुरा थाहा नपाउदा कतै बजार अभाव भइरहेको छ भने कतै उत्पादनले बजार पाइरहेको छैन,”उनले भने । 

    नेपालमा आफुलाई खान पुर्याउने र बचेको बिक्री गर्ने साना किसानहरूको सङ्ख्या धेरै छ । भएका उत्पादनले बजार नपाउँदा व्यवसायिक खेतीका लागि किसान आकर्षित हुन सकेको छैन । बाहिरबाट आयात कम हुँदा मूल्य राम्रो पाइने आशाले किसानहरू प्याज खेतीका लागि सकारात्मक भएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।

    उनी भन्छन्, “बजार सुनिश्चित हुने र घाटा नहुने हो भने किसानहरूले व्यवसायिक रूपमा प्याज खेती गर्छन्, गरिरहेका पनि छन् । तर, सही मूल्य पाएका छैनन् ।” सरकारले प्याज खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर, किसानहरूको स–साना समूह बनाएर तालिम दिने, प्राविधिक, प्रविधि, बिउ तथा सम्बन्धित सामाग्री उपलब्ध गराउने र उत्पादन भएको कृषि उपजको समर्थन मूल्य तोकेर बजारसम्म पु¥याउन सहजीकरण गर्नुपर्ने उनले बताए ।

    अन्य कृषि उत्पादन तथा फलफूल उत्पादनमा किसानलाई आकर्षित गर्न पनि सरकारले यो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । “कृषि उपज बिक्री नभएको अवस्थामा सरकारले नै खरिद गर्ने व्यवस्था गर्नुपर्छ । प्याजको बिउ उत्पादनका लागि पनि किसानहरूलाई तालिम दिनुपर्दछ । सम्भावना असाध्यै धेरै छ । हामीसँग जे राम्रो छ त्यो किसानले पाउँदैनन् । आयात हुनुजेल नेपाली किसानहरूलाई वास्ता हुँदैन । दूरदराजमा छरिएर रहेको उत्पादनलाई सङ्कलन गरेर मुलधारमा ल्याउन सकिदैन । हाम्रो थिति त्यहिबाट बिग्रेको हो,”उनले भने ।

    तिन महिनामा भारतबाट मात्रै कति भित्रियो प्याज ? 

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षका तिन महिनामा १ अर्ब ३३ करोड २३ लाख ८६ हजार रुपैयाँभन्दा बढिको प्याज भारतबाट मात्रै निर्यात भएको छ । साउन देखि असोज महिनासम्ममा ३ करोड २१ लाख ५४५ किलोग्राम प्याज भित्रिदा उक्त मूल्य बाहिरिएको हो । भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको तथ्याङ्क छ । जसमा ३ महिनाको अवधीमा भारतबाट १ अर्ब ३२ करोड १३ लाख ९ हजार रुपैयाँ बराबरको ३ करोड २० लाख २२ हजार ६७५ किलोग्राम ताजा प्याज, १ करोड ५ लाख ६६ हजार रुपैयाँ बराबरको ७६ हजार ५७० किलोग्राम सुकाइएको प्याज र ५ लाख ११ हजार रुपैयाँ बराबरको एक हजार ३ सय किलोग्राम  बिउ प्याज निर्यात भएको छ । 

    तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । जसमा ताजा प्याजका रूपमा ६ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, सुकेको प्याज ११ करोड रुपैयाँको आयात भएको छ भने २३ लाख रुपैयाँ बराबरको बिउ आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो । विभागको तथ्यांकअनुसार उक्त अवधिमा ताजा प्याज ६ अर्ब १७ करोड रुपैयाँको भित्रिएको छ । यस्तै, २७ करोडको सुख्खा प्याज आयात भएकोमा ९३ लाख रुपैयाँको बिउ आयात भएको थियो । तथ्याङ्कअनुसार नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ ।

    अन्य कुन देशबाट कति ? 

    चालु आर्थिक बर्षको तिन महिनामामा विभिन्न ५ देशबाट  ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात भएको पाइएको छ । ३ महिनामा १ अर्ब ३३ करोड १४ लाख ८१ हजार रुपैयाँ बराबरको ३ करोड २१ लाख ७५ हजार ७९० किलोग्राम ताजा प्याज आयात भएको छ । उक्त समयमा चीनबाट १ करोड १ लाख ७१ हजार रुपैयाँ, भारतबाट १ अर्ब ३२ करोड १३ लाख ९ हजार रुपैयाँ र इन्डोनेसियाबाट १ हजार रुपैयाँ बराबरको ताजा प्याज आयात भएको छ । 

    यस्तै, चीनबाट ७१ लाख ४४ हजार रुपैयाँ र भारतबाट १ करोड ५ लाख ६६ हजार रुपैयाँ बराबरको सुकाइएको प्याज आयात भएको छ । यता भारतबाट ५ लाख ११ हजार रुपैयाँ, कोरियाबाट ५ लाख ७ हजार रुपैयाँ र साउथ अफ्रिकाबाट २२ लाख रुपैयाँ बराबरको प्याजको बिउ आयात भएको छ । 

    प्याज निर्यातमा भारतको बारम्बार अवरोध किन ?  

    भारतले हरेक बर्ष जसो यही समयमा प्रायः प्याजको निर्यातमा विभिन्न रूपले कडाइ गर्ने गरेको छ । विगतमा पनि भारतले नेपाली बजारमा प्याजको माग तथा उपभोग धेरै हुने समयमा नै अवरोध सिर्जना गरेको थियो । नेपाली बजारमा असार–साउनदेखि मंसिर–पुसको महिनामा प्याजको उपभोग बढी हुने गरेको छ ।

    पाँच वर्षअघि अर्थात २०७५ मंसिर १२ मा भारत सरकारले प्याजको अभाव भएको र मल्य अकासिएकाले नियन्त्रण गर्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त समयमा पनि भारतले निर्यातमा रोक लगाउँदा नेपाली बजार प्रभावित भएको थियो । त्यस्तै, २०७६ असोजमा पनि भारतले प्याजको निर्यातमा रोक लगाएको थियो । २०७७ भदौ २९ मा पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

    कयौँ वर्षदेखि भारतले यसरी नै प्याजको निर्यातमा रोक लगाउने तथा प्रतिबन्ध लगाउने गर्दै आएको छ । भारत सरकारले स्वदेशमा नै प्याजको खपत बढी हुने समयमा प्याजको निर्यातमा कडाइ गर्दै आएको छ । भारतबाट प्याजको निर्यातमा कडाइ हुँदा भारतकै भरमा रहेको नेपाली बजारमा भने प्याजको मूल्य आकाशिने गरेको छ । कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ ।

    नेपालमा ५ बर्षमा भारतबाट कति भित्रियो प्याज ? 

    नेपालमा माग धान्न भारतबाट बार्षिक रूपमा करिब २० करोड केजी प्याज आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । जसमा आर्थिक बर्ष २०७९/८० मा प्याज ६ अर्ब ७५ करोड रूपैयाँ, सुकेको प्याज ११ करोड रूपैयाँ र बिउ २३ लाख रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा भारतबाट ताजा प्याज ६ अर्ब १७ करोड रूपैयाँ, सुकेको प्याज २६ करोड रूपैयाँ र ९३ लाख रूपैयाँको बिउ आयात भएको छ ।

    नेपालमा ५ बर्षमा भारतबाट मात्रै भएको प्याज आयात

    सन २०२३ को अप्रिल–जुनमा भारतले ६५ वटा देशमा प्याज निर्यात गरेको थियो । यस अवधिमा नेपालमा ०.३९ लाख मेट्रिक टन प्याज भारतबाट आयात भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा भने नेपालमा भारतबाट छ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ बराबरको १८ करोड केजी प्याज आयात भएको छ ।

    fd motors.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार