काठमाडौँ / दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँधुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः शनिबार हाइकिङ जाने गरेको पाइन्छ । ‘हाइकिङ’ अङ्ग्रेजी शब्द भएपनि नेपालमा यो शब्दको प्रयोग अचेल बढ्दो छ । घना सहरबाहिर ग्रामीण क्षेत्रमा गरिने लामो पैदल यात्रालाई यो शब्दले जनाउँछ ।
हाइकिङ शारीरिक दृष्टिकोणले पनि राम्रो मानिन्छ । यसले रमाइलोसँगै मानसिक र शारीरिक तन्दुरुस्ती बढाउने मात्रै होइन प्रकृतिसँग घुलमिल हुन र नयाँ ठाउँबारे जान्ने अवसर पनि दिन्छ। अहिलेको मौसममा आकाश खुला हुने भएकाले पनि दृश्यावलोकनको मज्जा लिन हाइकिङ जानेहरूको संख्या उच्च रहने गरेको छ । सहरको व्यस्त दैनिकी र तनावबाट एक दिन भए पनि टाढा रहन तथा प्रकृतिको नजिक पुगेर शरीर र मनलाई तन्दुरुस्त र पुनर्ताजगी बनाउन हाइकिङ जाने गरिएको छ ।
काठमाडौँ उपत्यकाको वरिपरि शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङमती, गोदावरी, फूलचोकी, लाँकुरीभञ्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनीजस्ता ठाउँहरूमा खासगरी सार्वजनिक बिदाको दिन हाइकिङ जानेहरूको भीड पछिल्लो समयमा बढ्दो छ ।
यी हुन् काठमाडौँ उपत्यकामा नजिकै रहेका केही हाइङि गन्तव्यहरू
१. नगरकोट
नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यस क्षेत्र काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ ।गर्मीमा पनि चिसो हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् ।
नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । साँखु, नेवारी गाउँबाट शुरु भइ करिब ५ घण्टाको पैदलयात्रा पश्चात् पुग्न सकिन्छ, नगरकोट । परिवार वा साथीभाइसँग राति बस्नेगरी गएको हो भने क्याम्पिङको मजा पनि लिन सकिन्छ । यसैगरी बौद्ध स्तुपा, स्वयम्भुनाथ, पशुपतिनाथको मन्दिरलगायतका क्षेत्रहरू पनि आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको रूपमा रहेको छ ।
२. फूलचोकी
फूलचोकी ललितपुरमा रहेको लोकप्रिय हाइकिङ गन्तव्य हो। काठमाडौँ उपत्यकाबाट प्रायः शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन फुलचोकी हाइकिङ जानेहरू धेरै हुन्छन्। यहाँ जाडो मौसममा हिउँ पर्ने हुँदा सहरवासीको रोजाइमा पर्ने हाइकिङ गन्तव्यभन्दा फरक पर्दैन। सातदोबाटोबाट करिब २१ किलोमिटरमा फूलचोकी पुगिन्छ। यहाँसम्म सवारी वा पैदलयात्रा हुँदै जान सकिन्छ। गोदावरी राष्ट्रिय उद्यान नजिकैबाट करिब तीन घन्टाको उकालो हिँड्नुपर्छ।
उपत्यकाको सबभन्दा अग्लो डाँडा फूलचोकीको हाइकिङलाई ‘टफ’ मानिन्छ । एकान्त र ‘टफ’ भए पनि उष्णप्रदेशीय पहाडी वनको यात्राले फूलचोकीको हाइकिङलाई विशेष बनाउँछ। बाटामा अनेक प्रजातिका सुनाखरी र गुराँसको वन भेटिन्छ। चराको कलरव र पुतलीको रमिता फूलचोकी यात्राको अर्को विशेषता हो। हिउँदमा एकपटक हिउँले छोपिने डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनास्लु, अन्नपूर्ण हिमशृङ्खलाका साथै काठमाडौं उपत्यकाको विहंगम दृश्यावलोकन गर्न सकिन्छ।
३. नमोः बुद्ध
काठमाडौंबाट ३८ किमि पूर्वतिर लागेपछि पुगिन्छ नमोबुद्ध । धुलिखेलमा अवस्थित यो गुम्बाले पर्यटक र तीर्थालु दुवैलाई आकर्षित गरेको छ । यसको विशेषता भनेकै शान्त वातावरण हो । धुलिखेल आफैमा शान्त, सुन्दर ठाउँका रुपमा परिचित छ । त्यसमा पनि केही उचाइमा अवस्थित नमोबुद्धबाट देखिने चित्तकार्षक काठमाडौँ उपत्यकाको दृश्यले कसको पो मन नलोभ्याउला र ?
कसरी पुग्ने– काठमाडौ–धुलिखेल बस अर्थात अन्य कुनै गाडीमा । धुलिखेलबाट बतासेसम्म अर्को गाडीमा । काठमाडौँ–बतासे ३५ किमि । बतासेबाट इँटे, शंखु हुँदै नमोः बुद्ध । नमोः बुद्धबाट गहते सामुदायिक वन, कुइँकेल गाउँ, गुम्बा, फस्कोट हुँदै काभ्रे भञ्ज्याङसम्म हिँड्ने । पदयात्रा दूरि १३.५ किमि । समय स् ६ घन्टा । काठमाडौ–नमोः बुद्ध ५० किमि । नमोः बुद्धसम्म सोझै मोटर, मोटरबाइक, साइकल वा अन्य गाडि, साइकल वा बाइकमा जान सकिन्छ ।
४. नागार्जुन
काठमाडौंबाट नागार्जुनको दुरी ९ किलोमिटर छ। नागार्जुन हाइकका लागि मात्र नभएर यसको ठूलो ऐतिहासिक महत्व पनि छ। नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको हाइकिङ बालाजु बाइपासबाट सुरु हुन्छ । काठमाडौंको उत्तरपश्चिममा पर्ने नागार्जुनको उचाइ २,१३० मिटर छ। उपत्यकाको उत्तरपश्चिम क्षेत्रमा पर्ने नौ किलोमिटर दूरीको हाइकिङ रुट घना जंगलको बीच भएर अगाडि बढ्छ। नागार्जुनबाट डाँडामा जामाचो गुम्बा र भ्यु टावर छ। चरा अवलोकन र योग–ध्यानका लागि नागार्जुन प्रख्यात छ। डाँडाबाट लाङटाङ, अन्नपूर्णलगायतका हिमशृङ्खला, नुवाकोटका गाउँ र काठमाडौं उपत्यका हेर्न नागार्जुन हाइकिङ धेरै उपयुक्त छ।
५. सुन्दरीजल
सुन्दरीजलबाट चिसापानीसम्म जान सकिन्छ। सुन्दरीजल हाइकिङको दुरी काठमाडौँबाट १५ किमी उत्तरतर्फ रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्र हुँदै जानुपर्दछ । यहाँ पुग्न खासै उकालो चढ्नुपर्दैन । पिकनिक र घुम्नका लागि चर्चित ठाउँ पनि हो सुन्दरीजल। सुन्दरीजलमा रमणीय झरनाहरु छन्। सुन्दरीजलबाट मूलखर्क हुँदै ओखेनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट पनि छन्। सुन्दरीजल हाइक यहाँको ट्रायल्स र रमणीय दृश्यका लागि मात्र नभएर नेपालको दोस्रो पुरानो जलविद्युत आयोजनाका लागि पनि लोकप्रिय छ ।
६. चित्लाङ
काठमाडौँ उपत्यकालाई पहरा दिइरहेका अग्ला डाँडामध्ये ललितपुर र मकवानपुरको साँधमा रहेको चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर) एक हो । भञ्ज्याङ मुन्तिर ६ किलोमिटर दुरीमा चित्लाङ छ । उत्तरदक्षिण फैलिएको चित्लाङ उपत्यका मकवानपुरमा पर्छ । जहाँ नेवार, तामाङ, क्षत्री, बाहुन र बलामी आदिको बसोबास छ।चित्लाङ ऐतिहासिक बस्ती । त्यहाँ सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ ।
त्यस्तै त्रिगजुरेश्वर, शिवालय, तलेजु भवानी कोत, सात धारा, बाख्राको फार्म, बाख्राको दुधबाट बन्ने चिज, स्वच्छन्द भैरब आदि ठाउँ हेर्न सकिन्छ। चित्लाङमा नेवार, ठकुरी र क्षत्रीका घरमा होमस्टे गराइन्छ । यहाँको प्याकेज मूल्य १२ सय रुपैयाँ । त्यसमा लन्च, डिनर, ब्रेकफास्ट र बास पाइन्छ । माग अनुसार सांस्कृतिक कार्यक्रमको छुट्टै मुल्य तिर्नुपर्छ । त्यसमा नेवार र तामाङ नाच देखाइन्छ । भुइँस्याउ, मुला, बाख्राको चिज, वलिभ तेल, किवि आदि चित्लाङका कोसेली हुन्।
कसरी पुग्ने– काठमाडौँबाट २५ किमि दुरीमा चित्लाङ गाउँ । थानकोट पार्क पछाडि गोदामबाट जीप चल्छन् । त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ । बाटो कच्ची छ । गोदाम–चित्लाङ १३ किमि ।
७. चम्पादेवी
काठमाडौँको पश्चिममा पर्ने चम्पादेवी डाँडा २,२८५ मिटर उचाइमा छ। डाँडैमा चम्पादेवीको मन्दिर छ। गुराँस, सल्लालगायतले घेरेको डाँडाबाट काठमाडौँ उपत्यकाको पूरै दृश्य देखिन्छ। यहाँ पुग्न विभिन्न रुटको प्रयोग गर्न सकिन्छ। चोभारको टौदहबाट यात्रा सुरु गर्न सकिन्छ । अर्को, कीर्तिपुरको मच्छेगाउँबाट पनि जान सकिन्छ । यहाँबाट हिँड्दै फर्पिङ पुगेर फेरि फर्कन सकिन्छ ।
फर्पिङबाट यात्रा सुरु गरेर हात्तीवन हुँदै चम्पादेवी र सोही रुट फर्किने एउटा विकल्प हो। यसको दूरी करिब १२ किलोमिटर पर्छ। फर्पिङ–चम्पादेवी रुटमा ढुंगा छापिएको छ। चम्पादेवी डाँडाबाट सीधै ओरोलो भएर टौदह पनि झर्न सकिन्छ। फर्पिङ–चम्पादेवी–टौदहको दूरीचाहिँ ११ किलोमिटर छ। कीर्तिपुरको मच्छेगाउँबाट चम्पादेवी जाने पनि हाइकिङ रुट छ। यो रुट पनि ११ किलोमिटर नै छ। अलि लामो यात्रा गर्ने हो भने चम्पादेवीबाट भष्मेश्वर डाँडा हुँदै चन्द्रागिरीसम्म पनि पुग्न सकिन्छ। छोटो अवधिमै सहरको धुवाँधुलो छोडेर स्वच्छ वातावरण महसुस गर्न पाइन्छ । हिमालय शृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता मानिन्छ ।
८. लाँकुरी भञ्ज्याङ
ललितपुरको लाँकुरी भन्ज्याङ १,९७७ मिटर उचाइमा छ। लाँकुरी भन्ज्याङलाई केन्द्रमा पारेर थुप्रै हाइकिङ रुट छन्। लाँकुरी भञ्जाङबाट उपत्यकाका तीनवटै जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । यो क्षेत्र चारैतिरबाट वनले घेरिएको छ । यो क्षेत्र पिकनिक स्पटका लागि पनि चर्चित छ । हरियाली वनजंगलको दृश्यावलोकन गर्दै रमाइलो गर्न सकिन्छ ।
भक्तपुर सूर्यविनायक–पाइलटबाबा–लाँकुरी भन्ज्याङ हुँदै लुभु चर्चित रुट हो। यो रुटको दूरी करिब १५ किलोमिटर छ। पाइलटबाबा डाँडाको शिरैशिर भएकाले यो रुटबाट काठमाडौँ उपत्यकासँगै विभिन्न हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।लुभ–लाँकुुरी भन्ज्याङ हुँदै काभ्रेको रयाले पुग्ने रुट पनि छ। गोदावरीबाट समेत लाँकुरी भन्ज्याङको हाइकिङ गर्न सकिन्छ। यो रुटको दूरी १२ किलोमिटर छ।
९. चन्द्रगिरि
चन्द्रागिरि अर्को चर्चित हाइकिङ ट्रेल हो । थानकोटबाट ७ किमिको दूरीमा रहेको चन्द्रागिरी हिल्स हाल काठमाडौँको मूख्य पर्यटकीय स्थल बनेको छ । यो कीर्तिपुरको मच्छेगाउँबाट सुरु हुन्छ । छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ । समुद्री सतहबाट २५५१ मिटरको उचाइमा रहेको यस स्थानसम्म पैदलयात्रा गर्दै पुग्न सकिन्छ भने केवलकारमार्फत् पनि जान सकिन्छ ।
चन्द्रागिरिमा उपत्यका आक्रमणका वेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई आजभोलि ‘कालु पाँडे फोर्ट’ भन्ने गरिन्छ । चन्द्रागिरिको डाँडा निस्कने अर्को ट्रेल थानकोटको गोदामचौरबाट पनि छ । चन्द्रागिरी डाँडाबाट काठमाडौ उपत्यकाको मात्र नभएर अन्नपूर्ण देखि सगरमाथासम्मको हिमश्रंखलाको परिदृश्य पनि अवलोकन गर्न सकिन्छ । चन्द्रागिरी हिल्समा अवस्थित मन्दिरको दर्शन गर्नका लागि पनि कतिपय आन्तरिक पर्यटकहरु यहाँ आउने गरेका छन् ।
हाइकिङ जाँदा ध्यान पुर्याउनुपर्ने कुराहरुः
– स्वास्थ्यका लागि हिँड्ने हुनाले सकेसम्म धुलो–धुवा“ रहित गोरेटोमा हिँड्ने । नभए गाडी कम चल्ने ठाउँमा।
– जाने रुटबारे पहिल्यै जानकारी लिने । बाटोको अवस्था, मौसम र ठाउँको बारेमा राम्रो जानकारी लिएर मात्र यात्रा गर्ने।
– पदयात्रा समूहमा गर्ने, एक्लै हिँड्दा बाटो थाहा नपाएर हराउन सकिन्छ, कुनै समस्या पर्दा साथी नहुँदा दुःख हुन्छ।
– नचिप्लिने सजिलो स्पोर्ट जुत्ता, हिँड्न सजिलो खुकुलो लुगा लगाउने, पछाडि बोक्ने सजिलो ब्याग बोक्ने।
– छाता–बर्सादी, घाम छेक्ने क्याप र सन ग्लास, लौरो, क्यामेरा, डायरी, कलम र दुरबिन आदि बोक्ने।
– पछाडि भिर्ने झोलामा २–३ लिटर पानी, मौसम अनुसार फलफुल र स्वास्थ्यबर्धक खाजा बोक्ने।
– प्राथमिक उपचारका सामान सिटामोल, टेप, व्याण्डेज, सियोधागो आदि बोक्ने।
– हिँड्दा सुरुमै छिटोछिटो नहिँड्ने । छिटो हिँड्दा स्वास फुलेर गारो हुन्छ । मध्यम गतिमा हिँड्ने ।
– निश्चित ठाउँमा पानी र फलफूल ब्रेक गर्ने।
– स्वास्थ्यका लागि हिँड्ने भएकाले पदयात्रा गर्दा वा अन्य बेलामा पनि मैदाजन्य जंक फुड, मादक पदार्थ र नुन बढी भएका खानेकुरा नखाने । यस्ता खानाले शरीरमा भारीपन आइ हिँड्न गारो हुन्छ । त्यसैले पचाउन सजिलो हुने रेशेदार खाना र मौसम अनुसार फलफुल खाने।
– हिँड्दा र अरु बेलामा पनि एकैपटक धेरै पानी नपिउने । एकैपटक धेरै पानी पिउँदा पेट फुल्छ, डुम्म हुने र गाह्रो हुने हुन्छ । त्यसैले हरेक घन्टा अढाइ सयदेखि तीनसय मिलिलिटर पानी पिउने । ठोस आहार र पानीको अन्तर कम्तिमा तीस मिनेट देखि एक घण्टाको फरकमा खाने । हिँड्दा पसिना निस्केको अनुपातले पानी पिउने।
– लेउ लागेका ठाउँबाट नहिँड्ने । झारपातमा नछुने, विषालु किराबाट बच्ने । मनसुनमा जुकाबाट बच्न नून र सन्चो बोक्ने।
– फोटो खिच्दा ध्यान पुर्याउने । छेउछाउमा गएर, ढुँगामा चढेर फोटो नखिच्ने ।
– हिँड्दा महँगा गरगहना र लुगा नलगाउने किनकि यात्रामा हराउने या अन्य समस्या हुन सक्छ।
– पदमार्गका बासिन्दालाई अफ्ठेरो हुने गतिविधि नगर्ने ।
– जताततै फोहर नफ्याँक्ने ।
– समयको ख्याल गरेर हिँड्ने । साथमा जगेडा पैसा बोक्ने।