काठमाडौँ / आज नेपालीहरूको महान चाडपर्वको दशैंको ९औँ दिन । महानवमी पर्व ! मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दसैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुँदै गएको छ । पछिल्लो समय दसैं भन्नेबित्तिकै नेपालीहरूले तालिकामा समेट्ने गरेका छन्। त्यो हो, दसैं घुमघाम । अरू समयमा भन्दा दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै घुम्न जानेहरु प्रचलन पनि बढ्दो छ ।
तपाईं पनि दशैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ भने हामीले तपाईंका लागि नेपालकै विभिन्न ठाउँहरु उपयुक्त हुन सक्छन् भनेर जानकारी दिन खोजेका छौं । देशभर घुम्ने गन्तव्य धेरै छन् । विदेशी पर्यटकको आकर्षणमा रहेका ठाउँ चर्चित भए पनि घुम्ने बानी र स्थलबारे नेपाली र विदेशीको रुचि भने केही फरक हुन्छ । समय र आर्थिक अवस्था हेरेर मानिसहरू दसैं विदामा घुम्ने ठाउँ छनोट गरिरहेका पनि छन् । साथीसंगी भेट हुने र घुम्न पनि पाइने हुँदा पैसा जम्मा गरेर पनि पछिल्ला समय नेपालका विभिन्न ठाँउहरूमा घुम्न जानेको लर्को लाग्ने गरेको छ । दशैंमा परिवारसँग मात्र नभई साथीसङ्गी घुम्न जाने प्रचलन पनि छ । विशेषगरी दशैंको लामो विदामा घुम्न जाने चलनको विकास भएको छ । न त चिसो न त गर्मी । यो मौसम घुम्नका लागि पनि अत्यन्तै राम्रो छ ।
परिवार र साथी भाइसहित दसैं विदामा घुम्न चाहनेहरुका यी ठाउँहरू उपयुक्त हुन सक्छन् :–
१. नगरकोट
राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको सहजै पुग्न सकिने ठाउँ हो नगरकोट । नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । यस क्षेत्र काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । यति मात्र होइन, नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ । गर्मीमा पनि चिसो हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।
यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् । काठमाडौंबाट मोटर यात्राबाट सजिलै नगरकोट पुग्न सकिन्छ । भक्तपुर–चाँगुनारायण–नगरकोट मार्ग, सुन्दरीजल–साँखु–नगरकोट, खरिपाटी–तेलकोट–नगरकोट पदयात्रामार्फत पनि नगरकोट पुग्न सकिन्छ । यसैगरी बौद्ध स्तुपा, स्वयम्भुनाथ, पशुपतिनाथको मन्दिरलगायतका क्षेत्रहरू पनि आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको रूपमा रहेको छ ।
२. कन्याम, इलाम
कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । इलाम नेपालको सुदुरपूर्वको प्राकृतिक र भौगोलिक रूपमा सुन्दर जिल्ला हो । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गर्दछ ।
नेपालको पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले जोकोहीलाई लोभ्याउन सक्छ । इलाम एक पर्यटकीय हिसाबले भरिपुर्ण क्षेत्र मानिन्छ । रमरणिय बातावरण,हरियाली चियाबारी सहित होचाथुम्का डाँडाकाँडाले पर्यटकको मन लोभ्याउछ । भौगोलिक बनोट चिया बगान सुधारिएको जीवन सैली,धार्मिक क्षेत्र,जातिय संस्कृति,तालतलैया सिमसार जस्ता ठाउले पर्यटकहरुलाई तान्ने गरेको छ ।
झापाको चारआली देखि इलाम जादा धेरै घुमाउरो बाटोको यात्रा गर्नु पर्दछ । यहाँको चियाबारी, हरियाली वातावरण, साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरूका लागी आकर्षणको केन्द्र बन्ने गरेको छ । नेपालको पुर्बी्जिल्ला मा पर्ने इलाम पाचथर,र झापाको बीचमा पर्दछ । सन्दकपुर, माईपोखरी, श्रीअन्तु, कन्याम, छिन्तापु, ढापपोखरी, सिद्धिथुम्का, गजुरमुखी, माङसेबुङ, भालुढुंगा, इलाम बजार, झ्याउपोखरी, गुफाथुम्की जस्ता पर्यटकीय स्थलहरु घुम्न योग्य स्थल हुन ।
इलाममा अर्गानिक चिया, ओलन, अकवरे, अम्लिसो, अलैँची, आलु लगायतका नगदेबाली उत्पादनमा उत्कृष्ट भूमिको रूपमा समेत इलाम अगाडि आउँछ । इलाम पुग्ने जोकोही पनि कन्याम नपुगी पर्कदैनन् । कन्याम मेची राजमार्ग सँगै जोडिएको कन्याम झापाबाट इलाम आवागमनमा विच बाटोमा नै पदर्छ । चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् । यसैगरि माईपोखरी जिल्लाकै अर्को प्रमुख पर्यटकीय तथा धार्मिक आकर्षणको गन्तव्य हो ।
इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत माईपोखरीमा दैनिक सयौँ धर्मवलम्बीहरू पुग्ने गर्दछन् । यहाँ विभिन्न प्रजातीका चराचचुरुङ्गी, दुर्लभ वन्यजन्तु र वनस्पति पाइन्छन् । मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दूरी उत्तरमा रहेको माइपोखरीमा पूजापाठसहित घुमघामका लागि आउनेहरूको भीड देखिन्छ । तिहारपछिको ठूली एकादशीमा मेला लाग्ने यस क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यको सम्भावना बोकेको एक स्थल मानिन्छ । अन्तु डाँडा सूर्योदय र सुर्योस्थको दृश्यका देशकै उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कारले जोकोहीलाई लोभ्याउँछ ।
सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटकको उपस्थिति हुने गर्छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर इलामको उत्तरी क्षेत्रमा पर्दछ । भारतसँग सिमा जोडिएको सन्दकपुर पुग्न सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ । यहाँ चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याने स्थानिय वताउँछन् ।
सदरमुकाम इलामबाट माईपोखरी माईमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै पनि सन्दकपुर पुगिन्छ । त्यस्तै, सिद्धिथुम्का जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्य हो । इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न सकिन्छ । यसैगरी ढापपोखरी, माङसेबुङ, गजुरमुखी लगायतका प्रमुख पर्यटकीय गन्तव्यका लागि इलाम निकै प्रख्यात मानिन्छ ।
दूधकुण्ड ताल
सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर तथा कार्यालुङ हिमालको काखमा छ दूधकुण्ड ताल। समुद्र सतहबाट करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको दूधकुण्ड दसवै हिमालबाट आएको पानी जमेर बनेको हो। हिन्दु, किराँती तथा बौद्ध धर्मावलम्बी सबैले आस्थाको धरोहर मानेको यो स्थानको धार्मिक महत्व पनि छ। रमणीय विशाल ताल, सुन्दर दुई हिमाल नजिकैबाट नियाल्न सकिने दूधकुण्ड मुलुकका सुन्दर गन्तव्यमध्ये पर्छ। सदरमुकाम सल्लेरीबाट झन्डै २० कोश दुरीमा रहेको दूधकुण्ड पुग्न पैदल यात्रा नै गर्नुपर्छ। काठमाडौंदेखि सोलुखुम्बुसम्म पक्की सडक निर्माण भइसकेको छ। बिपी राजमार्ग खुर्कोटबाट सिद्धिचरण राजमार्ग हुँदै सल्लेरीसम्म बस, जिप तथा मोटरसाइकलबाट करिब १० घन्टामा पुग्न सकिन्छ।
हवाई मार्गबाट आउँदा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ४५ मिनेट उडेर सदरमुकाम नजिकको फाप्लु विमानस्थल पुगिन्छ। पैदल भने फाप्लु, चिवाङ, फेरा हुँदै करिब चार घन्टामा रिङ्मु पुग्न सकिन्छ। गाडीबाट हो भने एक घन्टामा पुग्न सकिन्छ। रिङ्मुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्न स्वदेशी तथा विदेशी पर्यटकलाई उपयुक्त हुने खालका लज तथा होटल प्रशस्तै छन्। दूधकुण्ड क्षेत्रमा दूधकुण्ड ताल, भूतपोखरी, गंगाजमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृष्यावलोकन गर्न सकिन्छ।
लोमाङथाङ
हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङका विविध आकर्षणमध्ये एक हो लोमान्थाङ । सौन्दर्य र सम्पदा दुवै दृष्टिकोणले यो स्थान अति विशिष्ट छ । जोमसोमबाट कालीगण्डकीको तिरैतिर लोमान्थाङ पुग्दा भ्रमणप्रेमीहरुलाई उच्चतम आनन्दको अनुभूति हुन्छ । लोमान्थाङ वरपर देखिने गुफाहरु जति रहस्यमय छन्, यहाँको जीवनशैली उत्तिकै मौलिक छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ । गत वर्ष करिब तीन हजार पर्यटक लोमाङाथाङ पुगेका थिए । लोमाङथाङ जाने पर्यटकहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ । गुजुमुक्क घरहरु । घरमाथि एकनासले राखिएका दाउराका थुप्रा । यही ठाउँमा गुजुमजुक्क घरहरु भन्दा भिन्न, अग्लो र लामो एउटा घर । जुन घरलाई देखेपछि सबैले अनुमान लगाउन सक्छन । लोमाङथाङको पहिचान बनाएको ऐतिहासक दरबार भनेर ।
गुम्बाको जिल्ला भनिने मुस्ताड जान मोटरको सुविधा छ । उक्त क्षेत्रमा जाँदा मुस्ताङको मुक्तीनाथ पनि जाने उपयुक्त गन्तव्य हो ।लोमान्थाङ घुम्न मौसमको हिसाबले फागुनको अन्तिम सातादेखि असोज महिनासम्म उपयुक्त मानिन्छ । अधिकांश पर्यटकहरु जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान रुचाउँछन् । विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्गले पनि लोमान्थाङ पुग्ने पर्यटकहरुको सख्या बढाएको छ । मनाङको तिलिचो तालको अवलोकन गर्दै मुक्तिनाथ भएर पनि पर्यटकहरु लोमान्थाङ घुम्न जाने गरेका छन् । पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । लोमान्थाङ घुम्नको लागी आउने-जाने बाटोको समय बाहेक कम्तीमा पनि ७ दिनको समय छुट्याउनु उपयुक्त हुन्छ । दैनिक १५ सय जतिको बजेट बनाउनुपर्छ ।
रारा ताल, मुगु
नेपालकै सबैभन्दा ठूलो प्रसिद्ध रारा ताल निकै मनमोहक रहेको छ । यहाको जैविक विविधता र प्राकृतिक सौन्दर्यतालाई बयान गर्न सकिदैन । यसकारण नै हुनसक्छ वि।सं। २०२० सालमा तत्कालिन राज महेन्द्र बिरविक्रम शाहले स्वर्गकी अप्सरा समेत भनेर नामकरण गरेका थिए । कूल १०।८ किलोमिटरमा फैलिएको राराको लम्बाई ३।२ किलोमिटर र गहिरो १ सय ६७ मिटर छ । रारा लेक ट्रेकिङ पनि पर्यटकहरूका अति रुचाइएका गन्तव्यको रुपमा चिनिएको छ । त्यसपछि यसको चर्चा चुलिदैं गएको अनुमान गर्न सकिन्छ ।
समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान पछिल्लो समय सहज हुँदै गइरहेको छ । काठमाडौंबाट बढीमा ३० घण्टामै जुम्ला सदरमुकामसम्म पुग्न सकिन्छ भने जुम्लाबाट ६–७ घण्टाको यात्रापछि सहजै रारा पुग्न सकिन्छ । सुन्दर राराबाहेक पनि मुगुमा अन्य पर्यटकीय गन्तव्यहरू प्रशस्त रहेका छन् । रारा गाविसको कोटेराजदरबार, रूगा गाविसको रू। १ को नोटमा अंकित चंखेली हिमाल, दुधे दहसहित ५ ताल रहेका छन् । तर यी स्थानहरू अझै पनि पर्यटकहरूको नजरमा पर्न भने सकेका छैनन् । मुगुमा रारा बाहेक पनि साना–ठूला गरि १ सय भन्दा बढी ताल, कुण्ड आदि छन् ।
यी स्थानहरूको पनि प्रचार प्रसार हुन सके मुगुमा पर्यटकीय सम्भावना निकै रहेको छ । राराबाट दुई दिनको पैदल यात्रापछि पुग्न सकिने माथिल्लो मुगु, कोइजी मरक्का हिमाल, डोल्फु गाविसस्थित प्राचीन छायाँनाथको मन्दिर, त्यहाँको तामा खानी, तिहार गुम्बालगायतका स्थानहरू पनि आन्तरिक तथा पर्यटकीय गन्तव्य हुन् । तर, यी स्थानहरू पनि चर्चामा आउन सकेका छैनन् । यसैगरी रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तुरी, नाउर, घोरल, गिद्ध आदि पशुपन्छी र यार्सागुम्बा, पाँचऔले, उत्तिस, कटुकी, भोल्तेजस्ता जडिबुटीहरू पाइन्छ । मुगुको ग्रामीण क्षेत्रमा पुग्ने पर्यटकहरुले साना–ठूला विभिन्न ताल, कुण्ड, ढुङ्गाले कुँदिएका सुन्दर मूर्तिहरू, साना–ठूला गरी १ सय ५० भन्दा बढी झरना अवलोकन गर्न सक्नेछन् ।
घान्द्रुक
घान्द्रुक नेपालको कास्की जिल्लामा अवस्थित गाउँ हो । घान्द्रुक प्राय गरि अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेसी पर्यटकहरुमा एक चिरपरिचित गन्तब्यको रुपमा लिईन्छ। ठिंग उभिएका मनास्लु, अन्नपूर्ण र धौलागिरि । आठ हजार मिटर अग्ला यी तीन हिमशिखरसँगै पालो पर्खिन उभिएजस्ता २० भन्दा बढी हिमचुचुरा । अनि, दिनमा मात्रै होइन, मध्य राति पनि टलक्क टल्किने हिमशृंखला ।
कसरी पुग्ने ?
पोखरादेखि करिब ४२ किलोमिटर दूरीमा रहेको घान्द्रुक पुग्न सहजै यातायातको व्यवस्था रहेको छ । पोखरादेखि ४२ किलोमिटर यात्रापछि नयाँपुल पुगिन्छ । त्यहाँबाट बिरेठाँटी हुँदै करिब २३ किलोमिटर कच्ची बाटोको यात्रापछि घान्द्रुक पुग्न सकिन्छ । पदयात्रामा रमाउने पर्यटक नयाँपुलबाट पैदल हिँड्छन् । त्यहाँबाट चार–पाँच घन्टाको पदयात्रापछि घान्द्रुक पुगिन्छ । यो पदमार्गबाट हिँडेर घान्द्रुक पुग्न धेरै पर्यटकहरू लालायित हुने गर्छन् ।
खर्च कति लाग्छ ?
पोखराबाट बस र जिपले घान्द्रुक पुर्याउने गर्छन् । बसको तीन सय र जिपकोे पाँच सय भाडा लाग्छ । सार्वजनिक यातायातसँगै निजी कार र मोटरसाइकलले पनि पर्यटक ओसार्ने गर्छन् । घान्द्रुकमा खानपिन र बसोवासको राम्रो सुविधा छ । होटेलमा नौ सयदेखि एक हजार एक सय रुपैयाँसम्ममा साँझको खाना र अर्को बिहानको खाजा तथा बासको व्यवस्था हुन्छ । होमस्टेमा अझ योभन्दा पनि सस्तो हुन्छ ।
लाङटाङ
वरीपरी हिमालको वीचमा हिउँले ढाकिएको बस्ती । बस्ती नजिकै मन शान्त बनाउने ७ सय वर्ष पुरानो आकर्षक गुम्बा । लाङटाङ ! यो क्षेत्र नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बत सँग जोडिएको छ । यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।यस्तै, ऐतिहासिक तथा धार्मिकरुपमा धेरै महत्व भएपनि गुम्वा भने जीर्ण अवस्थामा । यो जीर्ण गुम्वामा बौद्ध धर्मावलम्बीहरुको गहिरो आस्था छ । जुन् गुम्बा हो, रसुवाको क्यानजेन गुम्बा । बाहिरबाट हेर्दा सानो र जीर्ण देखिने गुम्बाको भित्री भाग निकै आकर्षक र सुन्दर छ । नेपालमा आउने विदेशी पर्यटकहरुको तेस्रो रोजाईमा पर्छ लाङटाङ पदयात्रा । पर्यटकको रोजाईमा सगरमाथा र अन्नपूर्ण पदयात्रा पछि पर्छ, लाङटाङ पदयात्रा । हिमाली जनजीवन र हिमालको मनोरम दृश्यका लागि चर्चित छ, लाङटाङ पदयात्रा ।
सिन्धुलीगढी
‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कति न राम्रो दरबार’ यो गीत नसुन्ने मानिस सायदै भेटिन्छ । यो गीतले भनेजस्तै प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा सिन्धुलीगढीलाई लिन सकिन्छ । सिन्धुलीगढी काठमाडौंबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको ४ हजार ६ सय ४८ फिट उचाइमा रहेका छ । नेपाल–अंग्रेज युद्धको जिउँदो इतिहास मानिने यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू हामीलाई अनौठो लाग्न सक्छन् । पछिल्लो समय सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ ।
सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्धुली गढीमा पुगेर हेर्दा हाम्रा पुर्खाहरूले कसरी युद्धको रणनीति बनाउने रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ । महाभारत पर्वतको झन्डै मध्यमागमा करिब ५९ किलोमिटर बिन्दुमाल रहेको सिन्धुलीगढी जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दुरीमा छ । सिन्धुलीगढी अवलोकन गर्दा इतिहासको कालखण्डमा निकै कुख्यात घटनाक्रमबारे जानकारी लिन सकिन्छ । १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्र आन्तरिक र बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।
कालीञ्चोक, दोलखा
दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। नेपालको राजधानी काठमाडौँबाट १३३ कि.मी.पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। भौगोलिक बनावटको हिसाबले यस जिल्लाको अधिकांश भूभाग उच्च पहाड तथा हिमालले ढाकिएको छ। पहाड र हिमालको खोच, नदी किनार, टार र बेंसी गरी जम्मा १० प्रतिशत भूभाग मात्र समतल भएको अनुमान छ। भू-धरातलीय स्वरूपको आधारमा ३५ प्रतिशत भूभाग उच्च हिमाली भेगमा, ४० प्रतिशत भूभाग उच्च पहाडी भागमा र २५ प्रतिशत भूभाग मध्य पहाडी भागले ओगटेको छ।
दोलखमा रहेको प्रसिद्ध ठाउँहरू
गौरिशंकर हिमाल, च्छोरोल्पा हिमताल, प्रसिद्ध दोलखा भिमसेन मन्दिर, शैलुङ्गे डाँडा,गाईखुरा महादेब मन्दिर, खिम्ती जलविद्युत आयोजनाको पावर हाउस (किर्ने), म्याग्नेसाईट खानी ९खरिढुङ्गा०, चरिकोट, जिरी, किर्नेटार आदि।
कसरी पुग्ने कालीञ्चोक ?
काठमाडौँबाट करिब १३८ किलोमिटरको यात्रा पछि कालीञ्चोक कुरी बजार पुगिन्छ । सो यात्रा गर्न पाँचदेखि छ घण्टासम्म लाग्ने गर्छ । भक्तपुर, काभ्रेको बनेपा, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोकको सुकुटे, खाँडीचौर, मुडे र दोलखाको खरिढुङ्गा, चोथाङ देउराली हुँदै कालीञ्चोक पुगिन्छ । चरिकोटबाट १७ किलोमिटरको यात्रा पछि कालीञ्चोकको कुरी बजार पुग्न सकिन्छ । हिउँ परेको समयमा देउरालीसम्म मात्रै गाडी पुग्दछ । त्यसपछि पैदल वा त्यहाँको स्थानीयले सञ्चालन गरेको टायरमा चेन लगाएको बोलेरो जिपको सहायताले कुरी बजार पुग्न सकिन्छ । कुुरीबाट केबुलकारमार्फत भगवतीको मन्दिरमा पुग्न सकिने व्यवस्था पनि छ । यसको लागि नेपालीले प्रतिटिकट रु ५०० तिर्नुपर्ने हुन्छ । विद्यार्थी र ज्येष्ठ नागरिकको लागि भने २५ प्रतिशत छुट छ । कुरीबाट कालीञ्चोक मन्दिरसम्म हिँडेर जानको लागि एक घण्टाभन्दा बढी समय लाग्दछ ।
पोखरा
नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि प्रमुख गन्तव्य बन्ने गरेका छन् । पोखरामा मूख्य आकर्षण भनेको फेवाताल र बाराही मन्दिर हो । फेवातालमा बोटिङको मज्जा लिन र डुंगा चढेर मन्दिरमा पुगेर पुजाआजा गर्नु अधिकांश पर्यटकहरु पोखरा पुग्ने गरेका छन् । फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ । जुन अत्यन्तै मनमोहक हुने गर्छ ।
फेवातालमा बोटिङ मात्र नभई फिसिङसमेत गर्न पाइन्छ । फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्षक छ । पोखरा पुग्ने पर्यटक लेकसाइडमै बस्न रुचाउँछन् । पश्चिमी गन्तव्यको आभाष गराउने लेकसाइड रातमा झिलिमिली देखिन्छ । पोखराका अधिकांश होटल तथा लजहरु यहीँ छन् । त्यस्तै, डेभिड फल्स ९पातले छाँगो० पोखराको अर्को आकर्षण हो, डेभिड फल्स । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदितर्फ हानिन्छ । वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ निकै मनमोहक देखिन्छ ।
यसैगरी छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा खाल्डोमा रहेको छ । यहाँ गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र रमाउन सकिन्छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डभिड फल्सको पानी देख्न सकिन्छ । पोखराको अर्को प्रमुखय पर्यटकीय गन्तव्य हो विन्दावासिनी मन्दिर । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ । विन्दावासिनी मन्दिर आफैमा पनि सुन्दर र सफा रहेको छ । सराङको पोखराबाट उत्तर–पश्चिममा रहेको अग्लो डाँडा हो । पोखरा पुगेपछि सराङकोट पुग्नैपर्ने ठाउँ हो ।
यहाँबाट पोखरा र लेखनाथ शहर र हरियाली बनजंगल सिंगै देख्न सकिन्छ । साथै, आँखै अगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमश्रृंखलाहरु पनि हेर्न पाइन्छ । प्याराग्लाइडिङ र जिप फ्लाई समेत सराङकोटबाट नै हुने गर्छ । बेगनास र रुपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । तालको मिठो माछा खानका लागि बेगनास निकै चर्चित मानिन्छ । डाँडावारी बेगनास र डाँडापरी रुपाताल रहेको छ । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न पाइन्छ । शहरी कोलाहलबाट अलि टाढा भएकोले यहाँ पुग्दा आत्मशान्ति मिल्छ । पोखराबाट बेगनास तालमा सार्वजनिक गाडी प्रशस्तै चल्छन् ।
त्यस्तै महेन्द्र गुफा पोखराको निकै चर्चित ठाउँ हो । महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत रहेको छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गरेर फर्किन सकिन्छ । पोखरा पुग्ने अधिकांश मानिसहरू प्याराग्लाइडिङ नगरी फर्कदैनन् । प्याराग्लाइडिङमा उडेर मज्जा लिनका लागि ठूलो संख्यामा स्वदेशी÷विदेशी पोखरा पुग्छन् । साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङमा उड्दै पोखरा, हिमाल र आसपासको क्षेत्र हेर्नुको मज्जा बेग्लै हुन्छ । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्डिङ हुन्छ । पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट ।
अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा हिमश्रृंखला हेर्न पाइन्छ । साहसिक पर्यटनमा रुची राख्नेहरुका लागि बञ्जीजम्म निकै रोमाञ्चक हुन्छ । पोखराको हेम्जामा टावरसहितको बञ्जीजम्म सञ्चालनमा आइसकेको छ । सराङकोटबाट हेम्जासम्म जीप फ्लाई गराइन्छ । एक पटकमा दुईजनाले गर्न सकिने जीप फ्लाई युवायुवती र नयाँ जोडीका लागि आकर्षण बनेको छ । साहसिक खेलमा पर्ने जीप फ्लाई गर्दा थ्रिल महशुस हुन्छ । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको घना जंगल र हिमश्रृंखला अवलोकन गर्दै सराङकोटबाट हेम्जा झर्न पाइन्छ ।
यसको अलवा पोखरामा थुप्रै घुम्न जाने ठाउँहरु रहेका छन् । माटेपानी गुम्वा, अन्य तालहरु, पामे लगायतका ठाउँमा पुगेर पनि मज्जा लिन सकिन्छ । पोखरा माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण वेस क्याम्प, गुरुङहरुको सुन्दर वस्ती रहेको घान्द्रुक लगायतका विभिन्न स्थानमा ट्रेकिङका लागि प्रवेशद्वार समेत हो ।
मुस्ताङ्ग
हिमालपारीको जिल्लाको नामबाट चिनिने मुस्ताङ्ग जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिएअनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ । यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो । त्यस्तै, माथिल्लो मुस्ताङ्गलाई हिमालयको मरुभूमि भनेर पनि चिन्ने गरिन्छ । यहाँको कला–संस्कृतिले नेपाली सांस्कृतिक विविधतालाई प्रष्ट्याएको छ ।
बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले जोकोहिलाई पनि मोहित तुल्याउँ छ । बर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ्गको भ्रमणको लागि पुग्ने गर्दछन् । मुस्ताङ्ग जिल्लामा लोमान्थाङ्ग ऐतिहासिक दरबार, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, दामोदर कुण्ड, कागबेनीलगायतका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू पर्दछन् । मुस्ताङ्गमा यारुझो भ्युटावर, नीलगिरि र धौलागिरि हिमालको दृश्यावलोकन, स्नो लियोपार्ट, घरपझोङ किल्ला, कुछ पतेरंगा गुम्बा, ऐतिहासिक संग्रहालय, मेसोकोन्दोपास र तिलीचो पदमार्ग छन् । यहाँको ठिनी गाउँ थकाली सभ्यताको उद्गमस्थल समेत मानिन्छ । मुस्ताङ आएका पर्यटकको अर्को रोजाइ पर्यटकीय गाउँ मार्फा हो ।
जुन स्थान स्याउ र पर्यटकीय स्थलको रूपमा प्रख्यात छ । मार्फा संस्कृतिले उत्कृष्ट ठाउँ हो । यहाँका परम्परागत शैलीका एकआपसमा जोडिएका घर, स्याउका बुट्यान, डिस्टिलरी, कृषि फर्म हेर्न लायक छन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, दामोदर कुण्ड, छोसेर गुुफा र कोरलापास घुम्ने मध्येका मुख्य गन्तव्य हुन् । त्यसो त उपल्लो मुस्ताङमा हेर्नलायक दर्जनौं ऐतिहासिक गुम्बासमेत छन् । मुस्ताङ्ग घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढीरहेको छ । मुस्ताङ्गको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङ्गी सभ्यता र संस्कृतिले पर्यटकहरूलाई लोभ्याउँछ । कतिपय पर्यटकहरू भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा पुग्ने गर्छन् । मुक्तिनाथ पुग्नका लागि म्याग्दी, बेनी हुँदै सडकमार्गबाट बस, जिप र मोटरसाइकलबाट मुस्ताङ्गको यात्रा गर्न सकिन्छ । पोखरा–जोमसोम दैनिक हवाई सेवा पनि सञ्चालित छ ।
राष्ट्रिय निकुञ्ज : सौरहा, चितवन
सबैको लागि निकै सुनेको, देखेको र भोगेको ठाउँ हो चितवनको सौराहा । सौराहा भन्नेबित्तिकै एकसिंगे गैँडा, हात्ती र सफारीको कुरा आइहाल्छ । सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। यो नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्जको रुपमा सन् १९७३ मा स्थापना भएको राष्ट्रिय निकुुन्ज हो । सन् १९८४ मा विश्व सम्पदा सूचीमा परेको यो राष्ट्रिय निकुञ्जले ९३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यको रुपमा चिनिने गर्छ । विशेषगरी एक सिंगे गैडा र हात्तिको लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ति सफारी र्याफ्टिको लागि प्रख्यात छ ।
किन जाने सौराहा ?
सौरहा भन्नेबित्तिकै किन जाने ? भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । खासमा सौराहा किन जाने भन्ने प्रश्नको उत्तर निम्न कुराहरुबाट दिन सकिन्छ ।
१) शान्त रुपमा प्राकृतिक रुपमा रमाउन ।
२) हात्ती, जीप, डुङ्गाद्धारा वा हिँडेर वन्यजन्तुसँगसम्बन्धी गतिविधि नजिकबाट नियाल्न र चराचुरुङ्गी हेर्न साथै मनोरम ठाउँहरुको अवलोकन गर्न ।
३) बूढीराप्ती, रापती, ढुङ्गे खोलालगायतका कारणले गर्दा नदीमा पाइने गोही, चराचुरुङ्गी हेर्न । साथै डुङ्गा सफारीमार्फत गर्ने यात्रा निकै मनमोहक हुने हुनाले रमाइलो ठाउँहरु दृश्यावलोकन गर्न ।
४) संसारबाटै लोप हुन लागेको भयंकर जनावर हात्तीहरुको प्रजनन केन्द्र अवलोकन गर्न । जुन केन्द्र हात्तीहरुको प्रजनन गर्ने नेपालकै एकमात्र ठाउँ रहेको छ । जसलाई सरकारले व्यवस्थित गरेर राखेको छ । उक्त स्थानमा हात्तीका बच्चाहरु (छावाहरु) जन्मिछन, हुर्कन्छन र बढ्ने गर्दछन् ।
५) हात्ती सफारीमार्फत् रमाउन । वास्तवमा भन्नुपर्दा देशको आर्थिक समृद्धि बढाउन र पर्यटन व्यवसायलाई अगाडि बढाउन हात्तीको भूमिका निकै महत्वपूर्ण रहेको छ ।
६) जीप सफारी गर्न । जुन सौराहाको आएपछि समूह वा रिजर्भ गरेर वन्यजन्तुसँग नजिक हुने सबैभन्दा महत्वपूर्ण पाटो रहेको छ ।
सौराहामा छुटाउनै नहुने कुरा
– हात्ती सफारी
– जिप सफारी
– हात्ती महोत्सव
खप्तड
खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। सुदुर पश्चिमाञ्चलमा पर्ने, १४०० देखि ३३०० मिटरसम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना चर्चित धार्मिक व्यक्तित्व खप्तड बाबाको इच्छाअनुरुप १९८४ मा भएको थियो । बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड क्षेत्रलाई २२४ प्रजातिभन्दा बढी अमूल्य जडीबुटीहरु तथा प्राकृतिक इतिहासको जीवन्त संग्राहलय पनि भन्ने गरिन्छ । नेपालभरि पाइने करिब ५६७ प्रजातिका फूल फुल्ने विरुवाहरुमध्ये ११ प्रतिशत विरुवा खप्तडमा पाइने आँकलन गरिएको छ ।
मनै लोभ्याउने खप्तड चराचुरुङ्गीहरुको दृश्यावलोकनको लागि सबैभन्दा उत्तम ठाउँहरुमध्येका एक मानिन्छ । २८७ प्रजातिका चराहरु पाइने खप्तडमा भुक्ने मृग, जंगली कुकुर, बँदेल, घोरल, हिमाली कालो भालु र विभिन्न जातका बाँदरहरु पनि पाइन्छ । पछिल्लो तथ्यांकअनुसार त्यहाँ २३ प्रजातिका स्तनधारी जनावार तथा सोही संख्यामा सरिसृप तथा उभयचरहरु पाइन्छ । खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो ।
विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल (दह) रहेका छन्। खप्तड दह, नाग दह, माथिल्लो त्रिवेणी लगायत पर्यटकीय क्षेत्र समेटेको खप्तडका अन्य आकर्षणहरु खप्तड बाबाको आश्रम, धार्मिक धाम शैलेश्वरी, पाँच शहरका नामले चर्चित रामरोशन, मल्लिका देवीको घरको रुपमा चिनिने बडीमल्लिका, सुरमा सरोबर आदि पर्दछन् ।
खप्तडमा रहेका महत्त्वपूर्ण ठाउँहरु
– त्रिबेणी
– सहस्रलिंग
– खप्तड ताल
– खप्तड बाबाको कुटी
– नागढुंगा
– भिम घट्ट
– माइस्थान
– खापर मान्डू
कसरी जाने ?
खप्तड पुग्ने धेरै बाटाहरू भए पनि चलनचल्तीमा डोटीको बाटो रहेको छ । काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटी जिल्लाको सदरमुकाम सिलगढीसम्म आठ घन्टा बस चढेपछि पैदल हिँड्नुपर्छ । अहिले भने बगलेगसम्म जिप पनि चल्न थालेको छ । सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो आउँछ । दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जगलको बाटो आउँछ । बाटोमा फुलेका रंगीचंगी फूलहरूको सौन्दर्यको आनन्द लिँदै साँझ त्रिवेणी मन्दिर पुगिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउ लगायतका ड्राइफुड पनि बोक्नु राम्रो। यहाँ बास बस्नका चार धर्मशाला भए पनि तिनको उचित व्यवस्थापनको अभाव छ।