काठमाडौँ / प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा दुई दिने सेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे सहकार्यमा सम्पन्न उक्त तालिम असोज २० गते शनिबार र असोज २१ गते आइतबार सम्पन्न भएको हो ।
कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीका सर्वसाधारणहरूका लागि, प्रभु बैङ्क लिमिटेडको पोखरा एरियाका शाखाका शाखा प्रमुखसहित कर्मचारीहरूको लागि र पोखरा थकाली समाजका अग्रज तथा युवावर्गलाई लक्षित तालिम सञ्चालन गरिएको आयोजक प्रभु क्यापिटलले जनाएको छ ।
जसमा बिरेठाटीमा करीब १२० जना सर्वसाधारणहरू, प्रभु बैङ्क लिमिटेडका करीब २५ जना तथा थकाली समाजका ५० भन्दा बढी अग्रज तथा युवाहरूको सहभागिता थियो । उक्त तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकरप्रसाद रिमाल, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेसमेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको समन्वय प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलियाले गरेका थिए र प्रभु क्यापिटल लिमिटेडको कोष व्यवस्थापनका स्कीम म्यानेजर सौगात पन्तले लगानी सम्बन्धी जानकारी प्रदान गरेका थिए ।
प्रशिक्षणमा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमालले धितोपत्र बोर्डको स्थापनादेखि हालसम्मको जानकारी, सेयर बजार, प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरू, नियामक निकायको शेयर सम्बन्धी धारणा, सेयर बजारमा उपलब्ध भएका उपकरणहरूको जानकारी, कम्पनीहरूको आधारभूत तथा प्राविधिक विश्लेषणका सम्बन्धमा सामान्य जानकारी, लगानी विविधीकरण, लगानीकर्ताको हकहितमा सेबोनको भूमिका, बेबसाईट मार्फत गुनासोको व्यवस्था रहेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेले आस्बा, सिआस्बा, मेरो शेयर एप सम्बन्धी जानकारी, आईपिओमा आवेदन गर्दा ध्यान दिनु पर्ने कुराहरू, ईडीआईएस तथा केन्द्रिकृत केवाईसीको सम्बन्धमा जानकारी, भौतिक प्रमाणपत्रको डिम्याट गर्ने प्रक्रिया, सेयर लगानी गर्दा आफनो अवस्था विश्लेषण गरी लगानी गर्ने जस्ता विषयमा प्रकाश पारेका थिए ।
त्यसैगरी प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजनाहरूको योजना व्यवस्थापक सौगात पन्तले पोर्टफोलियो व्यवस्थापन तथा सामूहिक लगानी कोष तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरू समेटेका थिए ।
कार्यक्रमका सहभागी सदस्यहरूले वर्तमान शेयर बजारमा लगानीकर्ताहरूको प्रवेशका लागि आवश्यक विषयहरू समेटि गरिएको यो तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्तो प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटी कमिसन (आइओएससिओ)को आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रिय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।