images
images

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै, मौलिक संस्कृतिमा पर्यटकको चासो

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै, मौलिक संस्कृतिमा पर्यटकको चासो

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै, मौलिक संस्कृतिमा पर्यटकको चासो

    गण्डकी / बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका थिए । चिसोको प्रवाह नगरी मेलालाई लक्षित गरी तयारी गरिएको झाँकी, घोडचढीहरूको चहलपहललाई मुुस्ताङ भित्रिएका स्वदेशी एवं विदेशी पर्यटकले पनि उत्सुकतापूर्वक नियालिरहेका थिए । 

    images
    images

    सोह्र श्राद्धको समयका कारण यतिखेर ठूलो सङ्ख्यामा धार्मिक पर्यटक मुस्ताङमा छन् । दुई दिनअघिदेखि लगातार पानी परे पनि बिहीबारदेखि मौसम खुल्दा मुस्ताङको वातावारण सुन्दर देखिनुका साथै महोत्सवको उद्घाटन भव्य बनेको थियो । 

    चिसो मरुभूमिका उपमा पाएको मुस्ताङका पर्यटकीय आकर्षण, यहाँका कृषिजन्य उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ बिहीबारदेखि तीनदिने कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

    मुस्ताङमा रहेका प्राचीन मौलिक संस्कृतिसँगै यहाँका उत्पादनलाई बजारमा पुर्याउँदै कृषि र पर्यटनलाई जोड्नका लागि महोत्सवको आयोजना गरिएको उनले बताए । महोत्सवका अवसरमा मौलिक संस्कृतिमा आधारित थकाली नृत्य, याक नृत्य आदिलाई पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

    घरपझोङ गाउँपालिकामा उत्पादित कृषिजन्य सामग्रीका साथै अन्य विभिन्न गरी १५ व्यापारिक कक्ष राखिएका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिइन्। व्यापारिक कक्षमा स्याउ, जाम, माडा, सुकुटीलगायत बिक्रीका लागि राखिएको छ । महोत्सवमा आउने पर्यटकले स्याउका विभिन्न प्रजाति, समाजमा प्रचलित प्राचीनकालदेखि प्रयोग हुँदै आएका भाँडाकुँडा आदि अवलोकन गर्न, जान्न र बुझ्न पाउने व्यवस्था मिलाइएको छ ।

    महोत्सवमा व्यापारिक कक्ष राखेको जोमसोम महिला लघु उद्यमी समूहले आफ्ना उत्पादन बिक्री एवं प्रदर्शनीका लागि राखेको मीना शेरचनले बताइन् । “हामीले समूहबाटै उत्पादित जाम, माडा, स्याउको सुकुटी आदि व्यापार एवं प्रदर्शनीका लागि राखेका छौँ”, उनले भनिन्, “समूह भर्खर–भर्खरै कृषिजन्य उत्पादनको प्रशोधन एवं ब्रान्डिङमा लागेकाले  हामीलाई तालिम आवश्यक छ ।”

    यहाँ राखिएका विभिन्न कक्ष उद्यमशीलताको विकासका लागि जान्न र बुझ्न चाहनेका लागि बहुुउपयोगी बनेको स्थानीयवासीले बताए । महोत्सवमा सिरिघाङ कृषक समूहले आफ्ना समूहबाट उत्पादित उवाको सातु, हरियो केराउ, फापरको पीठो, टिमुरको छोपजस्ता वस्तु प्रदर्शनी एवं बिक्रीमा राखिएको छ । एघार जना स्थानीय आबद्ध भई आफूहरूले समूहमार्फत कृषिजन्य उत्पादन बढाउँदै त्यसको बजारीकरणमा जुटेको समूहका अध्यक्ष निमकुमारी शेरचनले बताइन् ।

    आफूहरूले गाउँघरमा यसअघि गर्दै आएका कृषिकर्मलाई समूहमार्फत सङ्गठित गर्दै अघि बढाउँदा त्यसले प्रत्येकलाई थप प्रोत्साहित गराउने गरेको समूहका सदस्य छिरिङ गुरुङले बताए । महोत्सवमार्फत मौलिक संस्कृति एवं कृषिजन्य उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको उनले बताए ।

    महोत्सवमा ठिनी सामुदायिक घरबास (होमस्टे)ले थकाली संस्कृतिमा आधारित विभिन्न खाद्यवस्तुको व्यापारिक कक्ष राखेको छ । फापरले बनाएको झिनुवालगायतका विभिन्न परम्परागत हिमाली खाद्यवस्तु राखिएको होमस्टेका सदस्य निरज थकालीले बताए ।

    “महोत्सवमा राखिएका कृषिजन्य उत्पादन, बन्ने परिकार आदिले यहाँको मौलिकतालाई उजागर गरेका छन्”, उनले भने, “तीनदिने यो मेला यहाँको कृषि र पर्यटनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।”

    पर्यटनको विकासका लागि स्थानीय कृषिजन्य उत्पादनलाई जोड्नुु अपरिहार्य हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताए। “पर्यटनलाई लक्षित गरी उत्पादन पनि बढाउनुु आवश्यक छ”, उनले भने, “कृषि र पर्यटनलाई सँगसँगै बढाउन सकेमा यसले दिगो पर्यटनलाई महत्त्वूर्ण टेवा पुर्याउँछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार